: कानुनले नेपाली नागरिकलाई प्रवेश नै निषेध गरेको क्यासिनोमा खुलेआम जुवा खेलिँदै आएको तथ्य सतहमा आएको छ। विराटनगरका दुईवटा क्यासिनोमा आइतबार राति प्रहरीले छापा हानेर महाप्रबन्धक र व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले राति करिब ११ बजे विराटनगरस्थित रत्ना होटलमा सञ्चालित ‘गोल्डेन कोइन’ क्यासिनो र बिग होटलमा रहेको ‘च्याम्पियन जोन’ क्यासिनोमा छापा हानेको हो।
त्यस क्रममा क्यासिनोभित्र नेपाली नागरिक निर्वाध रूपमा जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परेपछि त्यहाँ रहेका सबै नेपालीलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। रत्ना होटलको गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अधिकांशले आफू क्यासिनोका कर्मचारी भएको दाबी गरे पनि त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
एसपी कटवालका अनुसार हाल पक्राउ परेकामाथि ‘स्क्रिनिङ’ प्रक्रिया चलिरहेको छ। ‘क्यासिनोमा छापा हानेर नियन्त्रणमा लिएकाहरूमाथि प्रारम्भिक सोधपुछ भइरहेको छ। केहीले कर्मचारी भएको बताएका छन्। उनीहरूले देखाउने परिचयपत्र, कामको प्रकृति र जिम्मेवारीका आधारमा को कर्मचारी हो र को खेलाडी हो भन्ने छुट्याइन्छ,’ उनले भने, ‘स्क्रिनिङ पूरा भएपछि मात्र कति जनाविरुद्ध मुद्दा चल्ने भन्ने टुंगो लाग्छ।’
कानुनअनुसार क्यासिनोमा विदेशी नागरिकबाहेक नेपालीलाई पूर्ण रूपमा प्रवेश निषेध छ। क्यासिनो प्रवेश गर्दा विदेशी नागरिकता पुष्टि हुने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ। तर, विराटनगरका दुवै क्यासिनोमा वर्षौंदेखि यो कानुनी व्यवस्था खुलेआम उल्लंघन हुँदै आएको थियो।
स्रोतका अनुसार विराटनगरका क्यासिनोका मुख्य ग्राहक नै नेपाली उद्योगी, व्यापारी र युवाहरू हुन्। सञ्चालकहरूले नाफाको लोभमा कुनै रोकटोक नगरी नेपालीलाई प्रवेश दिँदै आएका छन्। परिणामस्वरूप धेरै नेपालीले क्यासिनोलाई नियमित मनोरञ्जनस्थल बनाउँदै लाखौँ रुपैयाँ हारमार गरिरहेका छन्।
क्यासिनोभित्र नेपालीको निर्वाध प्रवेशले सामाजिक र आपराधिक समस्या पनि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा क्यासिनोभित्र नेपाली युवाबीच विवाद, कुटपिट र खुकुरी प्रहारसम्मका घटना पटक–पटक हुँदै आएका छन्। जुवाको लतले पारिवारिक विखण्डन, आर्थिक संकट र आपराधिक गतिविधि बढाएको भन्दै स्थानीयस्तरमा लामो समयदेखि गुनासो उठ्दै आएको थियो।
यति गम्भीर समस्या हुँदाहुँदै पनि प्रदेश सरकार, स्थानीय प्रशासन र विराटनगर महानगरपालिकालगायत सम्बन्धित निकायले लामो समयसम्म क्यासिनोको गतिविधिलाई बेवास्ता गर्दै आएको आरोप लाग्दै आएको छ। क्यासिनोमा नेपालीलाई प्रवेश गराइरहेको विषयमा ‘हेलो सरकार’सहित विभिन्न सरकारी निकायमा यसअघि नै उजुरी परिसकेको भए पनि प्रभावकारी अनुगमन र कारबाही हुन सकेको थिएन।
प्रहरीका अनुसार आइतबार राति पनि नेपालीले क्यासिनोमा खेलिरहेको सूचनाका आधारमा छापा हानिएको हो। ‘नेपाली नागरिक क्यासिनोमा खुलेआम जुवा खेलिरहेको विश्वसनीय सूचना पाएपछि छापा हानिएको हो,’ एसपी कटवालले भने, ‘छापा हान्दा सूचना सत्य सावित भयो, त्यसैले व्यवस्थापकसहित त्यहाँ रहेका सबै नेपालीलाई अनुसन्धानको दायरामा ल्याइएको छ।’
प्रहरीले क्यासिनो सञ्चालकको भूमिकाबारे पनि अनुसन्धान थालिएको जनाएको छ। क्यासिनो सञ्चालकले जानाजान नेपालीलाई प्रवेश गराएको प्रमाण भेटिएमा कानुनअनुसार कारबाही हुने प्रहरीको भनाइ छ। लामो समयदेखि राज्यकै संरक्षण र बेवास्ताबीच कानुनको धज्जी उडाएर चल्दै आएका विराटनगरका क्यासिनोमा यसपटक भने प्रहरीले छापा हानेको छ।