— डडेल्धुरा कारागारका कैदीबन्दीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहानैदेखि बन्दीगृहभित्र नाराबाजी गर्दै उनीहरूले आप्नना माग सुनुवाइ नभए आन्दोलन उग्र बनाउने चेतावनी दिएका छन् ।
कैदीबन्दीहरुले वैशाखदेखि असोजसम्म प्रयोग हुने ‘मौसमी कपडा’ बापतको रकमका लागि भरपाईमा दस्तखत गरिसकेको दुई महिना बितिसक्दा पनि रकम प्राप्त नभएको बताएका छन् । त्यस्तै, २०८० सालदेखि कामदारी सुविधा नदिइएको र कारागारभित्र आवश्यक पर्ने कुचाेलगायत सरसफाइका सामग्री तथा अन्य सामान आफ्नै खर्चमा किन्न बाध्य भएको उनीहरूको गुनासो छ ।
कैदीबन्दीहरूले भेटघाट कक्ष हुँदाहुँदै पनि घरपरिवारसँग सहज रूपमा भेट्न नदिइएको, घरबाट ल्याइने खानेकुरामा रोक लगाइएको आरोप लगाएका छन् । गुनासाे राख्दा धम्की दिने तथा कुटपिट गर्ने गरेको, स्वास्थ्य उपचारमा बेवास्ता हुने गरेको र बिरामी हुँदा गम्भीर अवस्था आएपछि मात्रै अस्पताल लग्ने गरिएको उनीहरूको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो गर्दा सुनुवाइ नभएको कैदीबन्दीहरूले बताएका छन् । साथै, कारागारभित्र आर्थिक चलखेल हुने गरेको आरोप पनि उनीहरूले लगाएका छन् । माटो सफाइका लागि आएको १० लाख रुपैयाँको काम कैदीबन्दीहरूबाट गराइए पनि त्यसको पारिश्रमिक नदिएको उनीहरूको भनाइ छ । आन्दोलनरत कैदीबन्दीहरूले माग सम्बाेधन नभए अनसन बस्ने चेतावनी दिएका छन् ।
कैदीबन्दीहरूले विगतमा आफूहरूबाट पैसा उठाउने गरिएको र अहिले पैसा दिन छोडेपछि सेवासुविधामा कटौती गरिएको आरोप लगाएका छन् । ‘कारागारका कम्प्युटर अपरेटर नवराज गौतम र जेलर सन्तोष भट्टको मिलेमतोमा यहाँ आर्थिक चलखेल हुने गरेको छ,’ एक कैदीले भने ।
यता, कारागार कार्यालय डडेलधुराका जेलर सन्तोष भट्टले कैदीबन्दीहरूले उठाएका सबै आरोप अस्वीकार गरेका छन् । उनले वर्षमा दुईपटक २५ सय रुपैयाँका दरले दिइने कपडा भत्तामा गत वर्ष थप गरेर ४ हजार रुपैयाँ पुर्याइएको तर यस वर्ष बजेट अभावका कारण सो रकम दिन नसकिएको बताए ।
उनका अनुसार यसपटक उपलब्ध बजेटले प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म दिन सकिने अवस्था भए पनि कैदीबन्दीहरूले तत्काल ४ हजार नै माग गरेपछि समस्या उत्पन्न भएको हो । आफुहरुले राम्रो गर्दागर्दै पनि नबुझेर आन्दोलन गरिएको उनले बताएका छन् ।
डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले कारागार नियमअनुसार जाडोको कपडाबापत ४ हजार रुपैयाँ पाउनुपर्ने व्यवस्था रहेको बताए। तर कारागार कार्यालयको कुल बजेट ३ लाख ५० हजार मात्रै रहेकाले कैदीबन्दीको संख्याअनुसार रकम नपुग्ने अवस्था आएको उनले स्पष्ट पारे । ‘विभाग र मन्त्रालयमा रकम निकासाका लागि जानकारी गराइसकेका छाैं, समस्या साम्य पार्ने प्रयास भइरहेको छ,’ उनले भने । हाल डडेल्धुरा कारागारमा १३२ जना कैदी तथा थुनुवा रहेका छन् ।