— जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिराज ढुङ्गाना नेतृत्वको जेन–जी समूहलाई आन्दोलन गर्न अनुमति नदिएको बताएको छ ।
आन्दोलनकै दिन आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको ढुङ्गानाको टिमलाई अनुमति प्रदान नगरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
'उहाँहरु आजको आन्दोलनको लागि आज नै प्रशासन आउनु भएको थियो । अनुमतिको लागि पनि पक्रिया हुन्छ । भर्खरको भर्खर आन्दोलनको अनुमति कसैले चाहँदैमा पाउने कुरा पनि हैन,' रिजालले भने, 'सुरक्षा संयन्त्रलगायतको छलफलपछि अनुमति दिने कुरा हो । हामीले आज नगर्नुस् भनेका छौं । यदि अटेर भए कानुनअनुसार प्रशासनले काम गर्नेछ ।'
ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् । जेन–जी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो ।
अनुमतिबिना आन्दोलन गरेको भन्दै प्रहरीले मिराज ढुंगानाको जेन–जी समूहका केही प्रदर्शनकारीलाई माइतघर मण्डला क्षेत्रबाट हटाएको छ । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीले नाराबाजी गरेका छन् ।