— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ ।
जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
उनका अनुसार पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीमध्ये आवश्यकताअनुसार नपुग सामग्री मात्र खरिद गर्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको छ ।
प्रवक्ता भट्टराईले मतदाता नामावलीको अन्तिम सूची पुस १५ गते तयार हुने जानकारी पनि दिए । उनले १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएको बताउँदै भने, “५.६५ प्रतिशतले मतदाताको संख्यामा वृद्धि भएको छ ।” निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या पनि बढेको उल्लेख गर्दै उनले २०७९ मा ८७ वटा दलले निर्वाचन प्रयोजनका लागि दर्ता गराएकोमा अहिले ११४ वटा दल दर्ता भइसकेको जानकारी दिए । दलहरूको संख्या बढेकाले निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको उनले बताए ।
उनले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकिएको र मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय तथा सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको पनि जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल डाँकेकी थिइन् । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरू तथा निर्वाचन आयोगका पदाधिकारीसमेत सहभागी थिए ।