मुख्य समाचार
विराटनगरका क्यासिनोमा नेपालीलाई प्रवेश, १७ जनामाथि अनुसन्धान
विराटनगरका क्यासिनोमा नेपालीलाई प्रवेश, १७ जनामाथि अनुसन्धान

: कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्णरूपमा निषेध गरेको छ। तर विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोमा नेपालीले निर्बाध प्रवेश पाउने गरेको पत्ता लागेको छ।

विराटनगरका दुई ठूला होटलमा सञ्चालित क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेर २० जना नेपालीलाई पक्राउ गरेको थियो। प्रारम्भिक छानबिनपछि ३ जना भने क्यासिनाको कर्मचारी भएको पाइएको छ। उनीहरूलाई प्रहरीले छाडेको छ। बाँकी १७ जनाविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।


उनका अनुसार जिल्ला प्रहरी कार्यालयले विराटनगर महानगरपालिका–११ स्थित रत्ना होटलमा सञ्चालित ‘गोल्डेन कोइन’ क्यासिनो र बिग होटलमा रहेको ‘च्याम्पियन जोन’ क्यासिनोमा छापा हानेको थियो। छापा हान्दा क्यासिनोभित्र नेपाली नागरिकहरू कुनै पनि आधिकारिक क्यासिनो आइडी नलिई जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परेपछि सबैलाई नियन्त्रणमा लिइएको चुँडालले बताइन्।


मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाहरूको परिचयपत्र, जिम्मेवारी र क्यासिनोभित्रको भूमिकाका आधारमा ‘स्क्रिनिङ’ गरिएको थियो। ‘तीन जना क्यासिनोकै कर्मचारी भएको पुष्टि भयो। बाँकी १७ जना भने खेल्ने तथा खेलाउने कार्यमै संलग्न देखिएपछि उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,’ एसपी कटवालले बताए।
प्रहरीले गोल्डेन कोइनबाट १४ र च्याम्पियन जोनबाट ६ जनालाई नियन्त्रणमा लिएको हो।

रत्ना होटलको गोल्डेन कोइन क्यासिनोबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिका–६ का ४३ वर्षीय लोकेन्द्रबहादुर बस्नेत, झापाको मेचीनगर नगरपालिका–७ घर भई हाल विराटनगर–६ बस्ने ४० वर्षीय रोशन गिरी, झापाको दमक नगरपालिका–४ का ४० वर्षीय घनश्याम गिरी, विराटनगर–१ का २६ वर्षीय कृष्णकुमार कुर्मी, २४ वर्षीय विवेककुमार मण्डल, विराटनगर–१ का ४५ वर्षीय तेजराज गिरी र विराटनगर–७ का २७ वर्षीय पवन गोस्वामी पक्राउ परेका छन्।

त्यस्तै, रामेछापको सुनापति गाउँपालिका–४ का राज लामा (मणी लामा योन्जन), सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय रुपेश दाहाल, इटहरी–८ का २९ वर्षीय प्रमोद घिमिरे, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २३ वर्षीय आदेश विक, बुढीगंगा गाउँपालिका–२ का ४२ वर्षीय महमद जाकिर हुसेन, मोरङको कटहरी गाउँपालिका–४ का २६ वर्षीय सुरज राय र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ३८ वर्षीय सन्तोष बस्नेत पनि पक्राउ परे।

यसैबीच, बिग होटलमा रहेको च्याम्पियन जोन क्यासिनोबाट काभ्रेको बनेपा नगरपालिका–११ का ४५ वर्षीय रामकृष्ण गौतम, बैतडीको दशरथचन्द नगरपालिका–८ का ५३ वर्षीय हरि भट्ट र विराटनगर–८ का साजन साह पक्राउ परेका छन्। बिगबाट पक्राउ परेका अन्य ३ जना छुटेका छन्। पक्राउ परेकामध्ये लोकेन्द्रबहादुर बस्नेत गोल्डेन कोइनका महाप्रबन्धक र रामकृष्ण गौतम च्याम्पियन जोनका व्यवस्थापक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका केही व्यक्तिले आफू क्यासिनोमा डान्सर, स्टाफ वा व्यवस्थापक भएको दाबी गरे पनि उनीहरूसँग आवश्यक परिचयपत्र नपाइएकाले खेलाडीसरह अनुसन्धान अघि बढाइएको छ। छापा हान्दा नेपाली नागरिक क्यासिनो आइडी नै नलिई तास, चिप्स र नगदमार्फत जुवा खेलिरहेको पुष्टि भएपछि सबैलाई अनुसन्धानको दायरामा ल्याइएको एसपी कटवालको भनाइ छ।

कानुनअनुसार क्यासिनो विदेशी नागरिकका लागि मात्र सीमित रहने व्यवस्था भए पनि विराटनगरका क्यासिनोहरूमा नेपाली उद्योगी, व्यापारी, विद्यार्थी र युवाहरू नै मुख्य ग्राहक रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो। क्यासिनोको लतले परिवार विखण्डन, आर्थिक संकट र आपराधिक गतिविधि बढाएको भन्दै स्थानीयले पटक–पटक गुनासो गरे पनि सम्बन्धित निकायको बेवास्ताका कारण नेपालीले निर्बाध प्रवेश पाउने गरेका छन्।

क्यासिनोमा जानाजान नेपालीलाई प्रवेश गराएको, कानुनी व्यवस्था उल्लंघन गरिएको र क्यासिनो सञ्चालन नियमावली विपरीत गतिविधि भएको पाइएको प्रहरीले जनाएको छ। क्यासिनो प्रवेश गर्दा विदेशी नागरिक पुष्टि हुने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ। तर, विराटनगरका दुवै क्यासिनोमा वर्षौंदेखि यो कानुनी व्यवस्था खुलेआम उल्लंघन हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले आप्रवासी श्रमिकको अधिकार, सुरक्षा र मर्यादामाथि अझै गम्भीर चुनौती कायम रहेको औल्याउँदै श्रम आप्रवासनका सबै चरणमा सुशासन सुदृढ गर्न सरकार र सरोकारवाला निकायलाई आह्वान गरेको छ । उसले वैदेशिक रोजगारमा जाने श्रमिकले रोजगारीको लागि पैसा तिर्नुपर्ने ब्यवस्थालाई हटाउन निष्पक्ष भर्ना प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित ...
— भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान ...
— पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर ...
— टिकटकको प्यारेन्ट कम्पनी एवं चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन ओर्‍याकललगायत अमेरिकी कम्पनीसँग साझेदारी गर्ने घोषणा गरे पनि कतिपय विषय अनुत्तरित छन् । मुख्य कुरा, टिकटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने यसको अल्गोरिदम कसको नियन्त्रणमा रहने भन्ने विषय अझै स्पष्ट भएको छैन । निकै शक्तिशाली मानिने टिकटकको अल्गोरिदमले प्रयोगकर्ताको रुचि र स्वभावअनुसार भिडियो सिफारिस ...
— कैलालीमा एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ। फरार प्रतिवादी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम