: ताप्लेजुङबाट ट्राफिक प्रहरीले चोरीका पाँचवटा बोलेरो गाडी बरामद गरेको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट गएको ४ जना ट्राफिक प्रहरीको टोलीले पाँच वटा गाडी बरामद गरेर इटहरी ल्याएको छ।
भारतबाट चोरी गरी ताप्लेजुङमा नक्कली नम्बर प्लेट लगाएर सञ्चालन गरिएका ५ वटा बोलेरो गाडी ट्राफिक प्रहरीले बरामद गरेको छ। बरामद गरिएका गाडीहरू कम्पनीबाट बिक्री नै नभएको र पूर्ण रूपमा अवैध रहेको पुष्टि भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले जानकारी दिए। बरामद गरिएका गाडीहरू लिलामी प्रक्रियाका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने एसपी उनले बताए। ट्राफिकले ६१० प्रेसर हरण र २१४ वटा साइलेन्सर पाइप बरामद गरेको छ।
ट्राफिक प्रहरीले कोशी प्रदेशका १४ वटै जिल्लामा ध्वनि प्रदूषण नियन्त्रण, प्रेसर हर्न हटाउने, स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रण, टेम्पो तथा सिटी सफारीको अवस्था सुधार, मदिरा तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध कडा कारबाही अभियान चलाएको छ।
हराएका तथा चोरी भएका सवारी खोजतलास, चालक–परिचालक लक्षित स्वास्थ्य परीक्षण र निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरी ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेको एसपी गिरीले बताए। ट्राफिक प्रहरीले नियम विपरीत सवारी चलाउने ३२ हजार ८२२ चालकलाई कारबाही गरेको छ। चालकलाई कारबाही गरी चालु आर्थिक वर्षको अवधिमा ३ करोड २४ लाख १२ हजार ५४ रुपैयाँ जरिवाना गरिएको एसपी गिरीले बताए। कोशीमा ५ महिनाको अवधिमा २ हजार ५२८ वटा सवारी दुर्घटना भएको र १८१ जनाको मृत्यु भएको उनले बताए।
गिरीका अनुसार विभिन्न नम्बर प्लेटका सवारी साधनमा इन्जिन नम्बर परिवर्तन, रेकर्डसँग नमिल्ने विवरण, पुनः पञ्च गरिएको इन्जिन नम्बर, आयात नै नभएका सवारी तथा यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिने गाडीहरू फेला पारी बरामद गरिएको बताए।