— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो ।
फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । फाउन्डेसनकी डाइरेक्टर सताक्षी मिश्रका अनुसार फेस्टले करिब ४० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने विश्वास गरिएको छ ।
‘जे गर्छौं नेपालमै गर्छौं’ भन्ने नारासहित आयोजना हुने फेस्टलाई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्चका रूपमा विस्तार गरिएको मिश्रले बताइन् ।
फेस्टलाई आकर्षक बनाउन यस वर्ष विश्वकै सबैभन्दा ठूलो आकारको इँटा, उल्टो घर र डोम हाउस प्रदर्शनीमा राखिनेछ । मिश्रका अनुसार फाउन्डेसनले निर्माण गरेको विशाल इँटालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता गराउने तयारी भइरहेको छ ।
‘हालसम्म विश्वकै सबैभन्दा ठूलो इँटा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण गरिएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर रहेको थियो,’ उनले भनिन्, ‘फेस्टको अर्को प्रमुख आकर्षणका रूपमा घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो स्वरूपमा प्रस्तुत गरिनेछ ।
त्यस्तै, ‘डोम हाउस’ अवधारणाअन्तर्गत एक दिनमै घर, होटल वा रिसोर्ट निर्माण गर्न सकिने प्रविधिको प्रत्यक्ष प्रदर्शन समेत हुनेछ । जसले अवलोकनकर्तालाई नयाँ अनुभव दिने विश्वास गरिएको छ ।
निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मानिएको यस फेस्टमा घर निर्माणको तयारीदेखि निर्माण सम्पन्न नहुँदासम्मका सबै चरणको प्रत्यक्ष प्रदर्शनी गरिनेछ । निमार्णसम्बन्धी स्टलहरूले यसलाई थप आकर्षक बनाउने आयोजकले विश्वस लिएको छ। यस वर्ष विभिन्न ४० इन्जिनियरिङ कलेजले तयार पारेका थ्रीडी मोडलको प्रदर्शनीसमेत फेस्टमा राखिनेछ ।
फेस्ट अवलोकन गर्न आउनेहरूका लागि इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श लिन सकिने व्यवस्था गरिएको छ । अवलोकनकर्ताले घर निर्माणसम्बन्धी जिज्ञासा, सामग्री छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे जानकारी लिन सक्नेछन् ।
प्रदर्शनीमा सहभागी विभिन्न ब्रान्डले ग्राहक लक्षित विशेष अफरसमेत सार्वजनिक गर्ने तयारी गरेका छन् । यसअघि फाउन्डेसनले गत फागुन १५, १६ र १७ गते बुध्दनगरमा पहिलो निमार्ण फेस्ट गरेको थियो ।