— भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी गराएको हो ।
आयोगले यसअघि भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको भ्रमणममा रोक लगाउने निर्णय गरेको थियो ।
गत असोज १२ गते आयोगको उक्त निर्णयमा उनीहरूलाई स्वीकृतिबेगर उपत्यकासमेत छाड्न नपाउने भनिएको थियो । तर अनुसन्धान र छानबिनका लागि उनीहरूको बयान भइसकेको भन्दै आयोगले स्थानहद फुकुवा गरेको हो ।
यद्यपि आयोगले पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भने स्थानहद कायमै राखेको छ ।
यसअघि गुप्तचरका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।