। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो ।
निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो । दुवै गोल खेलको उत्तरार्द्धमा भएका थिए । खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा बल पुगेपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी टाइमको पाँचौं मिनेटमा मार्क गुएहीले गोल गर्दै प्यालेसलाई बराबरीमा फर्काए।
खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भयो। सुटआउटमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्त्यमा केपाले लाक्रोइक्सको पेनाल्टी रोकेपछि आर्सनल ८–७ ले विजयी भयो।
यस जितसँगै आर्सनल सेमिफाइनलमा पुगेको छ र फाइनल प्रवेशका लागि लन्डन प्रतिद्वन्द्वी चेल्सीसँग दुई लेगको भिडन्त खेल्नेछ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा जितबाट खुसी भए पनि टोलीको समग्र प्रदर्शनबाट भने पूर्ण सन्तुष्ट देखिएका थिएनन्।