। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
गैरकानुनी लाभ वा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा आयोगले मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म सडक कालोपत्र गर्न खरिद ठेक्का लगाउँदा आपसी मिलेमतोमा ठेक्का लुकाएर नजिकको मान्छेलाई ठेक्का दिएर उनीहरूले भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
गत २५ चैत २०८० को बोलपत्र आह्वान भएको सूचना उक्त पत्रिकाको एक प्रतिमा मात्र प्रकाशित गरेको, तर प्रेस काउन्सिलको अभिलेखमा राखिएको उक्त दिनको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशन नभएको पाइएको अख्तियारको भनाइ छ ।
पत्रिकामा बोलपत्रको सूचना प्रकाशित नै नगरी झुट्टा बिल, भरपाइ पेस गरी ६५ हजार रुपैयाँ सो पत्रिकालाई भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा छ ।
अख्तियारले तीनै जनाविरुद्ध त्यति नै रकम बराबरको बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।