मुख्य समाचार
आईटीको काम भन्दै म्यानमार पुर्‍याएर नेपालीलाई बनाइन्छ ‘साइबर दास’
आईटीको काम भन्दै म्यानमार पुर्‍याएर नेपालीलाई बनाइन्छ ‘साइबर दास’

। म्यानमारमा बन्धक बनाएर साइब स्लेभ (साइबर, डिजिटल दास) को रूपमा प्रयोग गरिएका ४७ नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइयो ।

त्यसपछि २४ मंसिर र २ मंसिरमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गर्‍यो । अहिले ब्युरोले सर्लाहीको भर्दोल गाउँपालिका-९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राईलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।




म्यानमारबाट उद्धार गरिएका ४७ जनामध्येबाट अहिलेसम्म ब्युरोमा २ वटा जाहेरी परेको छ । ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार तिनै दुई जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथिको सोधपुछ, फर्केकाहरूले दिएको जाहेरी तथा अनुसन्धानबाट नेपालीहरूलाई त्यहाँ साइबर दासको रूपमा चिनियाँ गिरोहले प्रयोग गरिरहेको पत्ता लागेको हो ।




थाइल्यान्डस्थित नेपाली दूतावास, म्यानमार सरकार र ब्युरोको समेत पहलमा ४७ नेपालीको उद्धार भएको थियो । त्यहाँ अझै करिब १०० को हाराहारीमा नेपालीहरूलाई बन्धक बनाएर साइबर दासको रूपमा काम लगाइएको छ ।

ब्युरोका एसएसपी कृष्ण पंगेनी अझै ठूलो संख्यामा नेपालीहरू साइबर दासको रूपमा म्यानमारमा फसेको बताउँछन् ।

म्यानमारको विद्रोही समूहको दबदबा रहेको क्षेत्र मेवाडीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दामा नेपालीहरूलाई प्रयोग गरेको बताइन्छ । म्यानमार प्रशासनको समेत पहुँच बाहिर रहेको मवाडीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’को पासोमा अहिले नेपाली पर्दै आएका छन् ।

चिनियाँहरू बाहिरबाटै सबै कुराको व्यवस्थापन गर्ने तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरू प्रयोग गर्ने गरेको एसएसपी पंगेनी बताउँछन् ।

नेपालीहरूलाई विशेषगरी ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्कमा ल्याएर अनलाइनमा विभिन्न प्रलोभन देखाएर फिसिङ गर्ने शैली देखिएको छ । चिनियाँको यो ट्र्यापमा विशेषगरी अमेरिकी, युरोपका व्यक्तिहरू फस्ने गरेको ट्रेन्ड देखिन्छ ।

अनलाइन स्क्यामिङ धन्दामा नेपालीलाई प्रयोग गर्न आकर्षक प्रलोभन देखाएर म्यानमार पुर्‍याउँदै डिजिटल दास बनाउने गरेको देखिन्छ ।

कम्युटरसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिलाई थाइल्यान्डमा राम्रो रोजगारी दिने भन्दै प्रलोभनमा पारेर त्यहाँ पुर्‍याउने गरिन्छ । थाइल्यान्डबाट ३६ घण्टासम्म कारमा राखेर म्यानमारको केकेआई पार्कमा लैजाने गरिएको छ । सो क्रममा केहीको आँखामा पट्टीसमेत लगाइन्छ । त्यहाँबाट मेवाडी पुर्‍याउने गरेको पीडितहरूले बताउने गरेका छन् ।


नेपालबाट भारत, थाइल्यान्ड हुँदै म्यानमार लाने गरेको देखिन्छ । एक लाखभन्दा माथिको तलब दिलाउने प्रलोभन देखाएर त्यहाँ पुर्‍याएपछि अनलाइन फिसिङमा प्रयोग गर्ने, नमानेको अवस्थामा चरम यातना दिनेसम्मका काम हुने गरेका छन् । उनीहरूलाई त्यहाँ केटी बनेर लभ अफेयर जसरी कुराकानी गर्न लगाउने, बिटक्वाइनको कारोबारमा लगाउने गरेको देखिन्छ ।

राज्यको पहुँच नै हुन नसक्ने ठाउँहरूमा क्याम्प खडा गरेर राख्ने, क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरूलाई अनलाइन स्क्यामिङहरूमा प्रयोग गर्ने गरिएको छ ।
म्यानमार पुगिसकेपछि मोबाइल, पासपोर्ट नियन्त्रणमा लिने र अवैध अनलाइन स्क्यामिङका लागि केही दिन तालिम दिने काम सुरु हुन्छ । गलत काममा फसेको थाहा पाएपछि नेपाल फिर्ता हुन खोजेको अवस्थामा भने पैसा हाल्न लगाउने वा त्यसवापत अरू ३-४ जना नेपालीलाई म्यानमार ल्याएपछि मात्रै छाड्ने प्रवृत्ति देखिएको एसएसपी पंगेनी बताउँछन् ।

‘कोही नेपाली छुटेर आउनुपर्‍यो भने कि उनीहरूले भनेजति पैसा हाल्नु पर्‍यो कि त्यसवापत अरू नेपालीलाई म्यानमार झिकाउनु पर्‍यो । यी दुई सर्तमा मात्रै छुट्ने अवस्था देखिन्छ,’ एसएसपी पंगेनीले अनलाइनखबरसँग भने ।

यसअघि दक्षिणपूर्वी एसियाका देशहरूमा अनलाइन स्क्यामिङका लागि मानव ओसारपसार हुने गरेको भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले ‘ग्लोबल वार्निङ’ समेत जारी गरेको थियो । यति हुँदासमेत विभिन्न प्रलोभनमा पारेर नेपाली युवायुवतीलाई दक्षिणपूर्वी एसियाका देशहरूमा पुर्‍याएर साइबर स्लेभ बनाउने धन्दा रोकिएको छैन ।

राज्यको पहुँच नै हुन नसक्ने ठाउँहरूमा क्याम्प खडा गरेर राख्ने, क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरूलाई अनलाइन स्क्यामिङहरूमा प्रयोग गर्ने गरिएको छ ।

निश्चित टार्गेट दिएर काममा लगाउने र दैनिक १८ घण्टासम्म काम गनुपर्ने अवस्था छ । दूताबासको पहल बिना फर्केका अधिकांशजसोले १० लाखसम्म फिरौती बुझाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त रकम क्रिप्टो करेन्सीमा हालेपछि बल्ल नेपालीहरूलाई त्यहाँबाट मुक्त गरेको देखिन्छ ।

१०७ जनाको उद्धार

अहिले ४७ जनाको उद्धार भए पनि मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएयता १०७ जनाको उद्धार भएको छ । जसमा १०३ पुरुष र ४ महिला छन् । उनीहरूलाई सुरुमा नेपालबाट चिनियाँ गिरोहले नै सम्पर्क गरी थाइल्यान्डमा दिने रोजगारी भन्दै म्यानमार लैजाने गरेको थियो ।

तर, पछिल्लो समय नेपालीलाई नै एजेन्ट खडा गरेर नेपालीहरूमार्फत नै थाइल्यान्डमा रोजगारी भन्दै म्यानमार पुर्‍याउने ट्रेन्ड देखिएको छ । अहिले पक्राउ परेका दुई नेपाली तिनै चिनियाँका नेपाली एजेन्ट रहेको ब्युरोको दाबी छ ।

म्यानमारकै जस्तो शैली दक्षिणपूर्वी एसियाका अन्य देशहरू पनामा, कम्बोडिया, पलाउमा समेत देखिएको छ ।

ब्युरोको तथ्यांकअनुसार पनामाबाट अहिलेसम्म १९ पुरुष र १ महिला गरी २० जनाको उद्धार गरिएको छ । कम्बोडियाबाट ९ पुरुषको उद्धार गरिएको छ । पलाउबाट पनि २० पुरुषको उद्धार गरिएको छ । यसरी पठाउने ३ चिनियाँसहित करिब दुई दर्जन नेपालीलाई पक्राउ गरेर मुद्दा चलाइएको ब्युरोको तथ्यांक छ ।

एक वर्ष बन्धक बनेर फर्केका युवाको बयान- करेन्ट लगाएर यातना दिइयो
२०८१ मंसिर महिनाको पहिलो हप्तातिर वैदेशिक रोजगारीको लागि विदेश जान विभिन्न म्यानपावरहरूमा बुझ्दै थिएँ । एक दिन गोकर्णेश्वर नगरपालिका-५ झोगाल बस्तीमा आइशा खाजाघरमा खाजा खाने क्रममा राजनारायण महतोसँग भेट भयो ।

कुराकानी क्रममा उनले आफ्नो छोरा रञ्जितकुमार महतो पनि म्यानमारको फुसन एन्ड रुद्र नामको चिनियाँ कम्पनीमा काम गर्ने र मासिक १ लाखभन्दा बढी कमाउने बताए । अनलाइन सेल्स मार्केटिङमा जाने भए १ लाखसम्म कमाइ हुने राजनारायणले बताए । त्यसपछि छोरा रञ्जितकुमारसँग सम्पर्क गराए ।

ह्वाट्स एपमा कुराकानी हुँदा रञ्जितले कम्प्युटर टाइप आएमा म्यानमार १ लाख कमाइ हुने बताए । आफूले पनि राम्रो काम कमाइ गरिरहेको बताएका थिए । उनले नै सबै प्रोसेसिङ गरिदिने बताए । मेरो पासपोर्टको फोटोसमेत मागे । त्यसको १०-१२ दिनपछि सबै कागजात मिलिसकेको र अब आउनका लागि मेरा बुवा राजनारायणसँग कुरा गर्न भने ।

जान १ लाख ५० हजार लाग्ने भएकाले ऋण खोजेर राजनारायणले एयरपोर्ट नजिकै सञ्चालन गरेको गेस्ट हाउसमा गएर नगदै रकम दिएको थिएँ । भिसा आयो भने । मैले हेर्न खोज्दा राजनारायणले अहिले मिल्दैन, जाने बेलामा एयरपोर्टमा दिन्छु भने ।

२१ मंसिर २०८१ मा मलाई काठमाडौंबाट हवाई मार्गबाट नयाँदिल्ली पुर्‍याइयो । त्यहाँ केही दिन बसेपछि म्यानमारको याङगोन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइयो । एयरपोर्टमा रिसिभ गर्न नाम थाहा नभएका म्यानमारका २ मानिस आए ।

त्यसपछि कहिले गाडीमा त कहिले मोटरबोटमा राखी म्यानमारको मेवाडी भन्ने ठाउँमा पुर्‍याइयो । त्यहाँ फुसन एन्ड रुद्र नामको कम्पनीमा लगियो । त्यहाँ रञ्जितकुमारसँग भेट भयो । उनले कम्पनीको नीति, नियम र तलबसम्बन्धी कागजात हो भन्दै सही छाप गर्न लगाए ।

त्यसपछि अबदेखि तिमीहरूको काम अमेरिकनहरूसँग कुराकानी गर्ने र उनीहरूलाई बिटक्वाइन्मा लगानी गर्न प्रेरित गर्ने हो, जति धेरैलाई पैसा जम्मा गर्न लगाउन सक्छौ त्यति नै तिमीहरूलाई फाइदा हुन्छ भनियो । तलबका साथै कमिसन पनि आउने भनियो ।

त्यहाँ भएका पूराना नेपालीहरूसँग बुझ्दा त अनलाइन स्क्यामिङमा लगाएको थाहा पाएँ । अनलाइन ठगीको काम थाहा पाएपछि मैले यस्तो गर्दिनँ, नेपाल फिर्ता जान्छु भनें । त्यसपछि चिनियाँहरूले कुटपिट गर्दै तिमीहरूले हामीले लगाएको काम गर्ने हो भने ।

तिमीहरूलाई यहाँ ल्याउने नेपाली एजेन्टमार्फत हामीले खर्च गरेका छौं भन्दै चिनियाँले कुटपिट गरे । विकल्प नदेखेपछि काम गर्न बाध्य भएँ । त्यसपछि सामाजिक सञ्जालमा च्याट गर्दा के बोल्ने, के नाबोल्ने, कस्तो रिप्लाई गर्ने, अमेरिकन पुरुषलाई कसरी ट्र्यापमा पार्ने जस्ता कुराहरूबारे तालिम दिइयो ।

एउटा कम्युटर दिई डेटिङ एपजस्ता एपहरू डाउनलोड गराएर धनाढ्य व्यक्ति, व्यवसायी र अमेरिकन व्यक्तिहरूलाई ट्र्यापमा पारेर बिटक्वाइनमा लगानी गर्न सिकाइयो । चिनियाँले हामीले लगाएको काम बाहेक अरू केही नगर्नु, आफ्नो वास्तविक नाम, ठेगाना कहिल्यै नभन्नु र एक दिनमा कम्तीमा ५ अमेरिकनको ह्वाट्स एपमा सम्पर्क गरी ट्र्यापमा पार्न टार्गेट तोकियो ।

यो काम गर्न नसक्दा खाना खानै नदिने, कुटपिट गर्ने, फ्रग जम्प गर्न लगाउने, करेन्ट लगाउने, पानीको जार बोकाएर पाँच तलामा तल-माथि गर्न लगाई चरम मानसिक र शारीरिक यातना दिइयो ।

त्यसपछि रञ्जित र उनका बाबुलाई सम्पर्क गरी नेपाल फर्काउन भने । तर उनीहरूले बेवास्ता गरे । चाइनिज सञ्चालकलाई भन्दा ७ हजार डलर तिरेपछि मात्रै जान पाउँछस् भने । तर उनीहरूले भनेअनुसारको पैसा तिर्न मैले सकिनँ । अनि बाध्य भएर काम गरेँ ।

एक दिन त्यो कम्पनीमा सेनाले छापा मार्‍यो । कम्पनी सञ्चालकहरू भागे । सेनाले नै उद्धार गरेपछि २४ मंसिरमा म नेपाल फर्किन सफल भएँ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लैनचौरमा रहेको युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले कलेज फि, इन्स्योरेन्स पोलिसीका लागि भन्दै २६ लाख ८ हजार ५६५ रुपैयाँ लिएर ठगी ...
। आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको थसीखेल घर भएका २३ वर्षीय समन श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट पक्राउ गरेको हो । लोक सेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी कर्मचारी पोशाक लगाउने र त्यसको आडमा आफ्नो ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको जानकारी गराए । सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग ...
। सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ । बिचौलियाको अरोपमा दुई कार्यालयमा काम गर्ने लेखापढी व्यवसायी पक्राउ परेका हुन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा लिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । ‘जिल्ला प्रशासनमा ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम