: अमेरिकाको क्यालिफोर्निया राज्यमा भारी वर्षा र बाढीका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार राज्यका ठूलो भू–भागमा आएको भीषण वर्षाले बाढी र पहिरो निम्त्याएको हो।
मौसम विभागले आँधीबेहरी र वर्षा शुक्रबारसम्म जारी रहने पूर्वानुमान गरेको छ। लस एन्जलस काउन्टीका केही क्षेत्रमा २७ सेन्टिमिटरसम्म वर्षा भएको जनाइएको छ। भारी वर्षाका कारण बस्तीहरू जोखिममा परेपछि मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रमुख सडकहरू पनि बन्द गर्नुपरेको छ।
आपतकालीन उद्धार टोलीले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेको छ। बाढीमा फसेका सवारी साधनबाट मानिसहरूलाई सकुशल उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
यसैबीच,क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले लस एन्जलससहित दक्षिणी क्यालिफोर्नियाका अन्य काउन्टीहरूमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्।
भारी वर्षाको प्रभावका कारण राज्यभर करिब एक लाख मानिस विद्युत् सेवाबाट बञ्चित भएका छन्।