: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्।
महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल पुलिसले विजयी सुरुवात गरेको हो। पुलिसले २५-१०, २५-६ र २५-११ ले खेल आफ्नो पक्षमा पार्दै सोझो सेटमा खेल टुंग्याएको हो।
महिलातर्फकै दोस्रो खेलमा एभरेष्ट महिला क्लबलाई हराउँदै अर्को विभागीय क्लब त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको हो। आर्मीले एभरेष्टलाई ३-० को सोझो सेटले पराजित गरेको हो। आर्मीले एभरेष्टलाई २५-१६, २५-१४ र २५-२३ ले हराएको हो।
पुरुष तर्फको पहिलो खेलमा विभागीय क्लब नेपाल पुलिसले ढोरपाटन क्लबलाई ३-१ ले पराजित गर्यो। नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-२०, २५-१४, ३३-३५ र २५-१४ गरेको हो। पहिलो र दोस्रो सेट जितेको पुलिसले तेस्रो सेट गुमाएको थियो। चौथो सेटमा पुनरागमन गर्दै खेल जितेको हो।
पुरुष तर्फको दोस्रो खेलमा एपिएफलाई हेल्प नेपाल स्पोट्स क्लबले ३-० को सोझो सेटमा पराजित गर्यो। हेल्प नेपालले एपिएफलाई २५-२१, २५-२० र २५-२० ले पराजित गर्यो। आजको खेलमा नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोलीले ३ अंक जोडे। महिला तर्फ त्रिभुवन आर्मीले एभरेष्ट महिला क्लबलाई हराउँदै ३ अंक जोड्यो। पुरुष तर्फको दोस्रो खेलमा एपिएफलाई हराउँदै हेल्प नेपालले ३ अंक जोड्यो।
आजबाट सुरु भएको यो प्रतियोगिता राखेप सदस्य सचिव रामचरित्र मेहेताले उद्घाटन गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ १२ र महिला तर्फ ८ टोलीले सहभागिता जनाएका छन्।