— नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणका लागि सेवा प्रदायक छान्ने समय दोस्रो पटक थप गरिएको छ । सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर अन्तर्राष्ट्रिय निर्माण कम्पनी र नेपाली निर्माण व्यवसायीको मागअनुसार पहिलो पटक १६ पुससम्म म्याद थप गरियो । यस अवधिमा निर्माण व्यवसायीबाटै आयोजनाले राखेको प्रावधानका केही बुँदामा स्पष्ट हुन नसकेको भन्दै स्पष्ट पार्न माग आएपछि ३० पुससम्मलाई समय थपिएको आयोजनाले जनाएको छ । यसअनुसार उक्त दिन बोलपत्र खोलिनेछ ।
अघिल्लो पटक प्रकाशन गरिएको बोलपत्र कागजातमा केही सामान्य संशोधन गर्नुपर्ने आवश्यकता देखिएकाले खरिद ऐनअनुसार नै समय थपिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले बताए । खरिद ऐनको दफा १६ को उपदफा (३) मा बोलपत्रसम्बन्धी कागजातबारे दुबिधा भई त्यस सम्बन्धमा स्पष्ट गर्न त्यस्ता कागजातमा उल्लेख भएको समयावधिभित्र बोलपत्रदाताले अनुरोध गरे सार्वजनिक निकायले पेस गर्ने अन्तिम म्याद समाप्त हुनुअघि नै त्यस्तो जानकारी बोलपत्रदातालाई दिनुपर्ने उल्लेख छ ।
‘बोलपत्रदातालाई थप समय दिन आवश्यक भए सार्वजनिक निकायले बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव पेस गर्ने अन्तिम अवधि बढाउन सक्नेछ,’ ऐनमा भनिएको छ । केही विषयमा निर्माण व्यवसायी स्पष्ट हुन नसक्दा स्पष्टताका लागि सामान्य विषयमा संशोधन गर्नुपर्ने भएकाले त्यहीअनुसार गरिएको आयोजनाका निर्देशक नेपालले बताए ।
‘सुरुमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाटै सहमति लिएर सूचना प्रकाशन गरिएको हो । संशोधन गर्न पनि खरिद कार्यालयको सहमति आवश्यक भएर पठायौँ, सहमति आउन र आन्तरिक तयारी गर्दा केही समय लाग्यो,’ नेपालले भने । त्यसैले बोलपत्रको समय थपिएको उनको भनाइ छ ।
‘निर्माण कम्पनीलाई बिमासम्बन्धी विषयमा केही दुबिधा (कन्फ्युजन) भएको रहेछ, सेवा प्रदायकले त्यहाँ काम गर्दा जनशक्ति, मेसिनको बिमा गर्ने विषयमा केही संशोधन गर्नुपर्ने भएर खरिद कार्यालयको सहमति लिई गरिएको हो, मुख्य विषयमा केही संशोधन छैन,’ नेपालले भने, ‘हाम्रो नियमावली र निर्देशिकाले केही काम गर्नुअघि जनशक्ति र उपकरणको बिमा गर्नुपर्छ भन्ने छ, के–के कुरामा बिमाले समेट्ने (कभर) गर्ने भन्ने कुरा अहिले संशोधन गरेर स्पष्ट पारिएको छ ।’ अब कुनै समस्या नरहेको र सेवा प्रदायक बढीमा तीन महिनाभित्र छानिसकिने उनको भनाइ छ ।
‘हरेक बोलपत्र प्रकाशन गरेपछि पेस गर्ने अवधिको बीचमा प्रि–बिड बैठक हुन्छ, त्यसमा जो इच्छुक बोलपत्रदाता छन्, बोलपत्र कागजात अध्ययन गरेपछि दुबिधा भए कार्यालयमा बैठक हुन्छ, त्यहीअनुसार बैठक राखेका थियौँ,’ नेपालले भने, ‘छलफलपछि केही ससाना कुरामा बोलपत्रमै संशोधन गर्नुपर्ने भएकाले त्यसअनुसार गरिएको हो ।’
यो अन्तर्राष्ट्रिय बोलपत्र भएकाले यसमा नेपाली कम्पनीसँग विदेशी कम्पनीले अनिवार्य रूपमा ज्वाइन्ट भेन्चर गर्नुपर्ने प्रावधान राखिएको छ । यसरी छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।
‘यो पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेखको जिम्मा लगाउने हो,’ नेपालले भने, ‘चौबीसै घण्टा सेवा प्रदायकले ३ सय ६५ दिन नै सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्ने छ ।’ सुरुङ सञ्चालनका लागि १ सय ५० जना जनशक्ति राखिनेछ ।
‘एउटा काम गर्न चार जना जनशक्ति आवश्यक पर्छ, जहाँ सिफ्ट तोकेर काम गराइनेछ,’ उनले भने, ‘यसमा सुरुङ सञ्चालन गरेको अनुभव भएका पाँच जना विज्ञ अनिवार्य हुनुपर्ने प्रावधान तोकेका छौँ ।’ त्यहाँ प्रयोग हुने जनशक्तिको पदअनुसार मासिक पारिश्रमिकको छुट्टाछुट्टै दररेट माग गरिएको उनको भनाइ छ । ‘सुरुङ मर्मतसम्भार गर्दा लाग्ने खर्च पनि मागेका छौँ, लाग्ने लागत भने हामीले बेहोर्ने हो,’ उनले भने, ‘छानिने सेवा प्रदायकले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ ।’ यसको अनुगमन सडक बोर्ड नेपालले नै गर्नेछ । सुरुङ निर्माणको काम ९७ प्रतिशत सकिसकेको छ ।
आयोजनाले अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाटै सुरुङमार्ग सञ्चालनमा ल्याउने जनाएको थियो । तर सेवा प्रदायक छनोट गर्न नसक्दा सञ्चालनको समय पछि धकेलिएको हो । अब अहिलेको तयारीअनुसार चैत दोस्रो साताबाट सञ्चालनमा आउने आयोजनाको भनाइ छ । सुरुङ सञ्चालनसम्बन्धी निर्देशिका बनाउनै डेढ वर्ष लागेको र यसमा खरिदसम्बन्धी स्पष्ट व्यवस्था नभएकाले छुट्टै खरिद निर्देशिका बनाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएर बोलपत्र आह्वान गर्दा ढिलाइ भएको निर्देशक नेपालले जनाए । यसैका आधारमा स्ट्यान्डर्ड बिड डकुमेन्ट बनाइयो । त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहमति लिई खरिद आह्वान गरिएको थियो ।
अहिले धादिङतर्फ टोल प्लाजा निर्माण र पहिरो व्यवस्थापनको काम भइरहेको छ । निर्माण कम्पनीको म्याद पहिरो रोकथामका लागि १२ वैशाख २०८३ सम्म थपिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि मालवाहक सवारीसाधनको हकमा ३० देखि ३५ मिनेट समय बचत हुने आयोजनाको भनाइ छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सरकारले शुल्कसमेत तोकिसकेको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि गत २५ चैतमा जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।
४ कात्तिक २०७६ मा यसको निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । कोभिड–१९ र स्थानीयको पटक–पटकको अवरोधका कारण समयमै आयोजना सम्पन्न गर्न ढिला भएको सडक विभागले जनाएको छ । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।