: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनप्रति मतदाताको विश्वास र मोह उल्लेख्य वृद्धि भएको बताएका छन्। शनिबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा लाखौँको संख्यामा मतदाता थपिएको बताउँदै उनले मतदाताको संख्याले निर्वाचनमार्फत देशमा सुशासन खोजिएको देखाएको बताए।
गत निर्वाचनभन्दा आसन्न निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या ५.०९ प्रतिशतले वृद्धि भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जनाए। २०७९ सालको निर्वाचनभन्दा हाल ९ लाख १५ हजार ११९ नयाँ मतदाता थपिएको आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। थपिएका मतदातामध्ये धेरैजसो ३० वर्ष मुनिका छन्।
चुनावप्रति आम जनताको विश्वास बढेकाले नयाँ र पुराना दुवै उमेर समूहका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जनाए। ‘निर्वाचनप्रति मतदाताहरूको विश्वास र मोह बढेको छ। राजनीतिप्रति वितृष्णा बढेर निष्क्रिय भएका मतदाता पनि यो पटक मतदान गर्न आतुर देखिन्छन्,’ उनले अन्नपूर्णसँग कुराकानी गर्दै भने, ‘चुनावले देशमा सुशासन ल्याउनेमा आम जनताले विश्वास लिएका छन्। यसै कारण छोटो समयमा लाखौँको संख्यामा मतदाता थपिएका हुन्।’
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न मतदाता दिन गनेर कुरिरहेको प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए। निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्नभन्दा धेरै अगाडि निर्वाचन तयारी अघि बढिसकेको उनको भनाइ छ।
संविधान बाहिर गएको राज्य व्यवस्थालाई चुनावमार्फत लिकमा ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ मा फागुन २१ का लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेको उनको भनाइ छ।
२०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो। २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ। पुरुष मतदाताको संख्या ५ लाख २२ हजार ५५२, महिला मतदाताको संख्या ३ लाख ९२ हजार ५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ।
मतदाता थपिएसँगै मतदान केन्द्रको संख्या बढाइएको छ। मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदान स्थल कायम गरिएको छ। ती मतदान स्थलमा कुल २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। यो निर्वाचनमा २०७९ को कुल मतदान स्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि गरिएको आयोगले जनाएको छ।