: पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वा चोकबाट शनिबार सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
हुलाकी सडकखण्डमा पर्ने मनिहर्वा चोकमा सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले ९ केजी ३०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पर्साकै पकहाँ मैनपुर गाउँपालिका-५ सबैठवाका ४३ वर्षीय रविन्द्र महतो र भारतको बिहार राज्यको बेतिया जिल्लाको झुक घर भएका ३७ वर्षीय अशोक महतो रहेका छन्।
मनिहर्वा चोकमा रविन्द्र सवार बीआर २२ यू ११७८ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले खानतलाशी गर्दा उक्त मोटरसाइकलको डिक्कीभित्रबाट ५ किलोग्राम गाँजा बरामद भएको हो।
त्यस्तै अशोक सवार रहेको बीआर २२ ए ५३०२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ४ किलो ३०० ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए। गाँजा भेटिएपछि दुवै मोटरसाइकलसहित त्यसका चालकद्वय रविन्द्र र अशोकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको योञ्जनले जानकारी दिए।