— उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ ।
काठमाडौं त्रिपुरेश्वरमा शनिबार बसेको बैठकले नयाँ राजनीतिक शक्तिहरूसँग एकताको संवाद गर्ने अधिकार अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ । पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापत हुने गरी एकता गर्नुपर्ने निर्णय भएको छ ।
थापाले पार्टी केन्द्रीय समिति निर्णयबारे भने, 'सबैको सहअस्तित्वलाई स्थापित हुने गरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको छ । आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरिएको छ । एकताको संवाद गर्न पार्टीका अध्यक्षज्यूलाई अधिकार दिने निर्णय गरियो ।'
उज्यालो नेपालले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबाट एकताका लागि आएको प्रस्ताव भने अस्वीकार गरेको छ । एकतापछिको पार्टी सभापति रवि लामिछाने र आगामी प्रधानमन्त्री बालेन्द्र शाह हुने प्रस्ताव आएको उज्यालो नेपालको केन्द्रीय समितिमा राखिएको थियो । जसलाई पार्टीले अस्वीकार गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।