: नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते हुने चुनाव नलड्ने घोषणा गरेकी छिन्। काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलामको चिउरा चपाउनु जस्तै भएको भन्दै उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी हुन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेकी भुसालले आफू प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने जानकारी गराइन्।
‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन। प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !’ भुसालले भनेकी छन्, ‘तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ। त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो। आगामी निर्वाचनमा उठ्नेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्।’
उनले पटक पटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेको बताइन्। उनले लेखेकी छिन्, ‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु। म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु। अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ।’