मुख्य समाचार
हिउँ चितुवाको तथ्यांक संकलन गर्ने उद्देश्यले हिउँ चितुवा सर्वेक्षण जारी
हिउँ चितुवाको तथ्यांक संकलन गर्ने उद्देश्यले हिउँ चितुवा सर्वेक्षण जारी

— हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्यांक संकलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ ।


राष्ट्रिय प्रकृति कोष (एनटीएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा संकटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेको उनले बताए ।

'हिउँ चितुवा हिमाली पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो । यसको उपस्थिति सुरक्षित छभने उक्त क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणाली सन्तुलन पनि राम्रो अवस्थामा रहेको मानिन्छ,' प्रमुख भुजेलले भने । मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उनले बताए । उनका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल (स्क्याट) संकलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।

सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषय मात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो । समुद्री सतहबाट करिब ३ हजार २ सय मिटरदेखि ५ हजार २ सय मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले बताए ।



यी क्षेत्रमा अल्पाइन घाँसेमैदान, शङ्कुधारी वन प्याच, सुक्खा नदी क्षेत्र, रिजलाइन र जनावरका बाटो समावेश गरिएका छन् । हिउँ चितुवा र तिनीहरूको सिकारका लागि प्रमुख बासस्थान हुन् । यस क्षेत्रमा कुल १२९ क्यामेरा जडान गरिएको उनले बताए ।

मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ । क्यामराले हिमाली ब्वाँसाको अध्ययन गर्ने एक अन्तरराष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्यात्मक प्रयास पनि समावेश गरी सर्वेक्षण भइरहेका छ । अनुसन्धानकर्ताले २२ क्यामेरा र तथ्याङ्क आदानप्रदान गरिरहेको एक्यापले जनाएको छ ।

'हिउँ चितुवा सुरक्षित छ भने त्यसको अर्थ नाउर, झारलजस्ता सिकार प्रजाति, घाँसेमैदान र समग्र हिमाली वातावरण पनि सन्तुलित अवस्थामा छ भन्ने बुझिन्छ,' उनले भने ।

सन् २०२४ अक्टोबर १४ मा सुरु भएको अनुगमन अध्ययनले विगतमा हिउँ चितुवा विवरण अध्ययन (छेत्री एटअल, २०१७) मा पहिचान गरेको वैज्ञानिकको रूपमा चयन गरिएका ग्रिड कोषलाई भीमथाङ उपत्यकासहित अन्नपूर्ण–मनास्लु क्षेत्र प्रमुख हिउँ चितुवा समेटेको छ ।

यस अध्ययनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र एक्यापले मनाङ ब्लकलाई १४ ग्रिड कोषमा विभाजन गरी प्रत्येकको मापन ५×५ वर्ग किलोमिटर रहेको जनाएको छ । निष्पक्ष र व्यवस्थित तथ्याङ्क सङ्कलन सुनिश्चित गर्न प्रत्येक ग्रिडभित्र अनियमित रूपमा क्यामेरा ट्रयापिङका लागि जडान गरिएको छ ।

मानव बस्ती र पूर्वाधारबाट टाढा जनावरका बाटो, रिजलाइन, वनक्षेत्र, पानीका स्रोत र ज्ञात वा शङ्कास्पद सिकारस्थलमा क्यामरा ट्रयापिङ गरिएको एक्यापले जनाएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न प्रत्येक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्यूब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।

प्रारम्भिक सर्वेक्षणले यस क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब ५० भन्दा बढी अनुमान गरिएको भुजेलले बताए । सर्वेक्षण जारी रहेकाले अन्तिम तथ्यांक आउन बाँकी छ ।

हिमाली ब्वाँसो, रातो स्याल, नीलो भेडा, कस्तुरी मृग, पहेँलो घाँटी भएको मार्टेन्स, हिमाली सेरो, घोरल र चितुवा बिरालोजस्ता विविध वन्यजन्तु प्रजातिको जडान गरेको क्यामेराले रेकर्ड गरेको सर्वेक्षणकर्ताले जनाएको उनले जानकारी दिए । जसले स्वस्थ र सन्तुलित पहाडी पारिस्थितिक प्रणालीलाई प्रतिविम्बित गरेको छ ।

क्यामरा ट्रयापिङ, स्क्याट सर्वेक्षण र सिकार मूल्यांकनमार्फत संकलन गरिएको तथ्यांकले मानव वन्यजन्तु द्वन्द्व हटस्पट पहिचान गर्न महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ । यसमा सुधारिएको पशुपालन अभ्यास, सिकार न्यूनीकरण, मौसमी चरन व्यवस्थापन र सहअस्तित्वमा केन्द्रित सामुदायिक जागरूकताजस्ता कार्यक्रमले नागरिकमा सचेतना फैलिएको छ । जसले हिउँ चितुवाको संरक्षणमा टेवा पुगेकाले सङ्ख्या बढ्न सक्ने सर्वेक्षणकर्ताले अनुमान गरेको एक्यापले जनाएको छ ।

एनआरसीए, एनटीएनसी एक्याप मनाङका प्रकाश अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत गोपाल खनाल, एनटीएनसी एक्याप मनाङका ओमबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, यामबहादुर गुरुङ र भक्तसिं गुरुङको सहयोगमा सर्वेक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जबरजस्ती करणी कसुर मुद्दामा कैद भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। संखुवासभा चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय काठमाडौंमा कैद भुक्तान गरिरहेका थिए। भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी संखुवासभाबाट ...
— उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् । संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था ...
— एमाले उपमहासचिव योगेश भट्टराईले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रूपमा लिनुपर्ने बताएका हुन् । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ । शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। उनले भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिएका ...