— एमाले उपमहासचिव योगेश भट्टराईले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रूपमा लिनुपर्ने बताएका हुन् ।
लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ । आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उनले बताए ।
लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तो छ भट्टराईको भनाइ
लोकतान्त्रिक परिपाटीमा कुनै पनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग–अलग ढंगले विभाजित हुनु अनौठो मानिँदैन । त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरू एकआपसमा मिलेको घोषणा गरेका छन् । त्यसलाई मैले अन्यथा रूपमा लिन चाहन्नँ ।
मुख्य कुरा के हो भने नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी पारदर्शी र स्वच्छ बनाउने, हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनः लयमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत् दिगो विकासको योजनालाई कसरी अगाडि बढाउने ? यही आजको दिनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
यसका लागि राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ । नेकपा एमाले कुनै पनि चुनौतीसँग सामना गर्न तयार छ ।जेन–जी आन्दोलन, जुन भदौ २३ गते भएको थियो, त्यो हाम्रो नवयुवा पुस्ताको एउटा आन्दोलन थियो । त्यो जागरण थियो । त्यो जागरण सुशासनका लागि थियो, भ्रष्टाचार अन्त्य गर्नका लागि थियो, सामाजिक सञ्जाल खुला गर्नुपर्ने भन्ने मागसँग सम्बन्धित थियो । यी पवित्र मागहरू हुन् । पवित्र मागहरूसहित पवित्र आत्माहरू त्यो आन्दोलनमा थिए ।
ती पवित्र माग र पवित्र आत्मालाई कुनै पनि गलत राजनीतिक उद्देश्य र व्यक्तिहरूको स्वार्थपूर्तिका लागि प्रयोग नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । जेन–जी आन्दोलनका अगुवाहरू पनि यसमा सचेत होऊन् ।
आफ्नो आन्दोलन हाइज्याक गरेर राजनीतिक स्वार्थसत्ताको रोटी सेक्न र व्यक्तिगत स्वार्थको रोटी सेक्न आफ्ना आन्दोलन र एजेन्डा हाइज्याक भए कि भएनन् भन्ने कुरामा जेन–जी अगुवाहरूले पनि ध्यान दिउन् ।