मुख्य समाचार
जेनजी आन्दोलनमा आफूले बल प्रयोग गर्न निर्देशन नदिएको जिकिर गर्दै बल प्रयोगको घटनामा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवार हुनुपर्ने
जेनजी आन्दोलनमा आफूले बल प्रयोग गर्न निर्देशन नदिएको जिकिर गर्दै बल प्रयोगको घटनामा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवार हुनुपर्ने

। पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले २३ भदौको जेनजी आन्दोलनमा आफूले बल प्रयोग गर्न निर्देशन नदिएको जिकिर गर्दै बल प्रयोगको घटनामा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवार हुनुपर्ने बयान दिएका छन् ।

जेनजी आन्दोलनमा २३ गते भएको दमन र २४ गतेको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगमा आफ्नो लिखित भनाइ राख्दै लेखकले अघिल्लो दिन बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत आफूले बल प्रयोग नगर्न सचेत गराएको दाबी गरे ।

‘भदौ २३ अघिको अघिल्लो दिन केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो र त्यो दिन आवश्यकभन्दा बढी बल प्रयोग गर्ने कुनै योजना र निर्णय भएको थिएन’ आयोगमा पेश गरेको लिखित जवाफमा उनले भनेका छन्, ‘त्यसो गर्ने न कानुनी व्यवस्था छ, नत अभ्यास नै छ ।’

उनले भदौ २२ गते साँझको केन्द्रीय सुरक्षा समितिको बैठक स्मरण गर्दै त्यो दिन आफूले गृहमन्त्रीको हैसियतले स्पष्ट रुपमा तीनवटा निर्देशन दिएको दाबी गरे । उनले जवाफमा बल प्रयोगको मामिलामा प्रचलित कानुनअनुसार सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी जवाफदेही हुनुपर्ने बताएका छन् ।

पूर्वगृहमन्त्री लेखकका अनुसार, पहिलो कुनै हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भनेर सुरक्षा अधिकारीहरुलाई सचेत र सावधान गराइएको थियो । दोस्रो, समन्वयात्मक रुपमा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दियो ।

जेनजी प्रदर्शन कुनै राजनीतिक समूहको आन्दोलन नभएकाले नेतृत्वविहीन हुनसक्ने भन्दै लेखकले प्रदर्शनमा घुसपैठ हुनसक्ने भएकाले सतर्कता अपनाउन तेस्रो निर्देशन पनि दिइएको बताए ।

उनले जवाफमा भनेका छन्, ‘त्यसपछि मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको र त्यहाँ समेत सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्दै कुनै हताहती नहोस् भनेर सजग गराएको थिएँ ।’

‘कहाँबाट निर्देशन दिनु ?’

पूर्वगृहमन्त्री रमेश लेखकले कुनैपनि प्रदर्शन वा आन्दोलन व्यवस्थापन गर्न र त्यसमा बल प्रयोग गर्न समेत गृहमन्त्रीको भूमिका र अधिकार नहुने दाबी गरेका छन् ।

गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धी निर्देशन दिने अधिकार नहुने भन्दै उनले आफूले कुनै आदेश पनि नदिएको जिकिर गरे ।

उनले जाँचबुझ आयोगमा पेस गरेको लिखित जवाफमा भनेका छन्, ‘सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने/नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानुनी जिम्मेवारी छ, न त यसबारे ज्ञान । न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ ।’

तत्कालीन प्रधानमन्त्रीको समेत बचाउ गर्दै उनले जवाफमा ‘प्रधानमन्त्री र मन्त्रीले कसैलाई यति बल प्रयोग गरे, यसरी गर, शान्तिसुरक्षा कायम गर्दा कहाँनिर के अवस्था र आवश्यकता पर्छ ?’ भनेर निर्देशन नदिने जिकिर गरे ।

उनले जवाफमा भनेका छन्, ‘प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयो गर्ने भन्ने कुरा सुरक्षा निकायले परिस्थिति र वस्तुगत आधारमा विश्लेषण गर्ने हो ।’ प्रदर्शन वा आन्दोलनलाई व्यवस्थित गर्ने र आवश्यक परे बल प्रयोग गर्ने अधिकार सुरक्षा निकाय र सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुने उनको जिकिर छ ।

उनले जवाफमा भनेका छन्, ‘त्यस अवस्थाको निर्क्यौंल गरी निर्णय लिने जिम्मेवारी स्थानीय प्रशासन सम्वन्धी ऐन तथा अन्य कानुनले नै प्रष्ट रुपमा सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका पदाधिकारीलाई दिएको छ ।’

तर अर्कै मुद्दाको सिलसिलामा सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भने लेखकले विषम परिस्थितिका कारण गोली चलेको दाबी गरेका थिए । उनले प्रदर्शनकारीहरुको हताहती हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि बल प्रयोगको आदेश भएको र त्यसक्रममा आफूले घुँडामुनि गोली हान्न आदेश दिएको स्वीकारेका छन् ।

त्यसक्रममा उच्च पदस्थ पदाधिकारीहरूसँग समेत समन्वयमा बल प्रयोग भएको उनको जिकिर थियो ।

तत्कालीन गृहमन्त्री लेखक आफैंले सार्वजनिक गरेको छ पेज लामो जवाफमा भने तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले दिएको ‘स्टेटमेन्ट’बारे कुनै टिप्पणी छैन । उच्चपदस्थ पदाधिकारीहरूसँगको समन्वयमा बल प्रयोग भएको भन्दै सीडिओ रिजालको जिकिरमा पूर्वमन्त्री लेखक समर्थन वा प्रतिवाद नगरी मौन रहेका छन् ।

‘घुसपैठ पो भएछ’

गृहमन्त्री लेखकले आफ्नो जवाफमा जेनजीको प्रदर्शनलाई लोकतन्त्रविरोधी तत्वहरूले हाइज्याक गरेको आरोप लगाएका छन् । उनले ‘धमिलो पानीमा माछा मार्न चाहने तत्व’ हाबी भएको भन्दै उनीहरुले नै जेनजीको भावनामाथि खेलेर शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लगाएका हुन् ।

बानेश्वरमा प्रदर्शन उग्र र हिंसात्मक हुन थालेको र त्यसपछि आफूले प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिलाई जानकारी गराएको भन्दै उनले त्यसलगत्तै हताहतीको घटनाले आफ्नो मन छियाछिया भएको बताएका छन् ।

त्यही दिन साँझ दिएको राजीनामापत्रको व्यहोरा उदृत गर्दै उनले भनेका छन्, ‘आज भएको दुःखद् घटनाबाट पीडा भएर नैतिकताको आधारमा म गृहमन्त्री पदबाट राजीनामा गर्छु ।’ उनले जिम्मेवारी पुरा गर्दागर्दै विषम परिस्थितिका कारण हिंसात्मक गतिविधि भएको भन्दै त्यसमा आफ्नो भूमिका नभएको जिकिर गरेका हुन् ।

उनले जेनजी आन्दोलनमा भएको दमनको भोलिपल्टको विध्वंशात्मक घटनालाई नियोजित षडयन्त्र भनेका छन् । उनले जवाफमा भनेका छन्, ‘पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा ‘खुकरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भने जस्तै भएको छ ।’

मुलुक र लोकतन्त्रमाथिको नियोजित आक्रमणका क्रममा भदौ २४ को घटना भएको भन्दै उनले त्यसक्रममा पैत्रिक सम्पत्तिबाट जोडेको महेन्द्रनगर र काठमाडौंको आफ्नो घर आगजनीबाट नष्ट गरिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् । धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने ...
। पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकता भएपछि अब ...
। ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच एकता सहमति भएपछि गुरुङले अब सिभिलियन फोर्स गठन गर्ने बताएका हुन् । ‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । ...
। ‘हनी ट्रयाप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ भने तीनजनाले सफाइ पाएका छन् । घटनाका मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरीको गौशाला नगरपालिका–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ ...
। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका उपाध्यक्ष मित्र परियारलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदको उम्मेदवार बनाउने भएको छ । केहीदिनअघि मात्रै श्रम संस्कृति पार्टी परित्याग गरेको जानकारी दिएर नेकपा प्रवेश गरेका उनलाई आज दलित क्लस्टरबाट १ नम्बरमा राखेर बन्दसूची पेस गरिएको हो । परियारलाई पुस ११ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ...