: आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाइरहेका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउने प्रचलन छ। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ,गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।
गुरूङको बाहुल्यता रहेका जिल्लाहरूमा धुमधामसँग यो पर्व मनाइन्छ। यसै अवसरमा काठमाडौंको टुँडिखेलमा पनि तमु ल्होसार भव्यताका साथ मनाइएको छ। काठमाडौंमा बसोबास गर्ने तमु समुदायले मंगलबार विशेष कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा पराम्परागत भेषभुसासहितको सांस्कृतिक प्रदर्शनी गरिएको थियो। कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी राखिएको छ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन्।