: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आक्रमणमा जेनजी र नेपालीले सेनाले आफूलाई जोगाएको दाबी गरेका छन्। जेनजी आन्दोलनमा घुसपैठ भएको बताउँदै देउवाले आफूलाई उद्धार गर्न सेनाको हेलिकोप्टर आउँदा बदमासहरूले ल्यान्ड गर्नसमेत नदिएको बताएका हुन्।
भदौ २४ गते घरमै बसिरहेका देउवा दम्पतिमाथि आक्रमण भएको थियो। उनले भने,‘यसरी आक्रमण होला भन्ने त कल्पनानै थिएन, चारैतिरबाट घेरेर आक्रमण भयो। मलाई त्यो बेला नेपाली सेना र जेन–जीले नै बचाएका हुन्। बदमासहरूले उद्धार गर्न आएको हेलिकप्टरसमेत ल्यान्ड गर्न दिएनन्।’
सभापति देउवाले जेनजी आन्दोलनमा कांग्रेस र एमालेलाई निशाना बनाइएको दाबी गरे। मंगलबार पत्रकारहरूसँग भेटघाटमा देउवाले भने, ‘सबैभन्दा धेरै कांग्रेसका नेताका घर, पार्टी कार्यालय आक्रमण गरियो, त्यसपछि एमालेको क्षति भएको पाइयो। हाम्रोभन्दा माओवादीको केही कम क्षति भएको देखियो। तर, राजावादी र रास्वपाका नेताको घरहरू केही पनि भएको छैन।’
देउवाले १५ औं महाधिवेशन निर्वाचन अगाडि गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर आफूले भन्दै आएको बताए। उनले महाधिवेशन गर्ने साथीहरुको मनसाय भए आफूले नरोक्ने स्पष्ट पारे। उनले देउवाले नियमित महाधिवेशनकै तालिका ल्याइसकेकाले विशेष महाधिवेशनमा नलाग्न सुझाव दिएको बताए।
देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने स्पष्ट पारे।