— कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ ।
'सबै राजनीतिक दलहरूले समानुपातिकको सूची पठायो पनि । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन ? भन्ने प्रश्नचाहिँ अहं प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ,' उनले भने ।
निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको पनि उनले बताए ।