: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो।
कोशीले कीर्तिपुरलाई २५-२३, २५-२० र २५-२३ले पराजित गरेको हो। कोशी प्रदेश भलिबल संघ क्वाटरफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो। समूह चरणको अन्तिम खेल सकिँदा पुरुषतर्फको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। क्वाटरफाइनलमा समूह ‘ए' को विजेताका रूपमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले समूह ‘सी' को उपविजेता बुढा नीलकण्ठ भलिबल क्लबसँग खेल्ने छ।
दोस्रो क्वाटरफाइनलमा समूह ‘बी'को विजेता रहेको नेपाल पुलिस क्लबले समूह ‘डी'को उपविजेताका रूपमा क्वाटरफाइनल पुगेको कोशी प्रदेश भलिबल संघसँग क्वाटरफाइनलको खेल खेल्नेछ। तेस्रो क्वाटरफाइनलमा समूह ‘सी'को विजेता रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग समूह ‘ए'को उपविजेता एपीएफ क्लबसँग क्वाटरफाइनल खेल्नेछ।
चौथो क्वाटरफाइनलमा समूह ‘डी'को विजेता त्रिभुवन आर्मी क्लबले समूह ‘बी'को उपविजेता रहेको खिल्जी युवा क्लबसँग क्वाटरफाइनल खेल्नेछ।
पुरुषको क्वाटरफाइनल खेल बिहीबार हुनेछ। महिलातर्फको सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागिसकेको छ। समूह ‘बी'बाट नेपाल पुलिस क्लब विजेताको रूपमा समूह ‘ए'को उपविजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ। समूह ‘बी'को उपविजेता नेपाल एपीएफ क्लबले समूह ‘ए'को विजेता न्यु डाइमण्ड क्लबसँग सेमिफाइनलमा भेट गर्नेछ।