: नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ । गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोष्ट बस्ने ३० वर्षीय विनोदकुमार रहेका छन् ।
उनीहरूको मृत्युको कारण भने खुलेको छैन। उनीहरू उद्योगको ग्यासी फायरको पोकिङ् फ्लोरमा एकै ठाउँमा सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । उद्योगले मृत अवस्थाका बारेमा जानकारी गराएपछि घटनास्थलमा प्रहरी पुगेको श्रेष्ठले बताए । यता घटनाबारे उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले ग्यास लिग नभइ कोठामा सुतेको अवस्थामा अक्सिजनको कमि भएर मृत्यु भएको हुनसक्ने बताए । ‘हिजो न्यू इयर मनाएका होलान् । कोठामा गएर सुतेपछि अक्सिजन कम भएर मृत्यु भएको हुनसक्छ, 'प्रबन्धक न्यौपानेले भने ।
शव उठाउन दिइएन
घटनाको वास्तविकताका लागि दुबैजनाको शव प्रादेशीक अस्पताल बुटवल पठाइने तयारी भएपनि आक्रोशित स्थानीयले अवरोध गरेका कारण पठाउन नसकिएको प्रहरीले जनाएको छ। आक्रोशित आफन्त र स्थानीयले उद्योगको लापरबाहीले घटना घटेको भन्दै दोषिलाई कारबाहीको माग गर्दै उद्योग घेराउ गरेका हुन् ।
वास्तविकता पत्ता लगाउन पोष्टमार्टमको जरुरी भएकाले पहिला शव लैजान दिए छिट्टै सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ । ‘परासी जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि विशेषज्ञ चिकित्सक नभएकाले फरेन्सिक जाँच गर्न प्रादेशीक अस्पताल बुटवल पठाउने तयारी गरेपनि अहिलेसम्म पठाउन सकिएको छैन । रिपोर्ट आएपछि मृत्युको वास्ताविक कारण खुल्छ । पहिला पोष्टमार्टमका लागि वातावरण बनाइदिन पर्यो,'एसपी श्रेष्ठले भने ।