: सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा सशस्त्र प्रहरी बलको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएको छ । बुधबार राति करिब १२ बजे भारतबाट चिनी तस्करी गरी नेपालतर्फ आउँदै गरेको समूहसँग भएको दोहोरो भिडन्तको क्रममा सशस्त्र प्रहरीको जवाफी फायरिङमा परेर स्थानीय विजय साहको मृत्यु भएको छ ।
मृतक साह कोशी गाउँपालिका–१ का बासिन्दा हुन् । उनी सिटी सफारी चालक रहेको र भारतको बिरपुरबाट चिनी लोड गरी नेपालतर्फ आउँदै गरेको अवस्थामा गोली लागेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक भारतबाट तीनवटा अटो र सिटिसफारी नेपालतर्फ आउँदै गर्दा अगाडिको अटोबाट सशस्त्र प्रहरीलाई लक्षित गरी गोली प्रहार भएपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्नुपरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाले बताएका छन् ।
उनले तस्कर समूहले पहिले गोली चलाएपछि पोस्टमा तैनाथ सशस्त्र प्रहरीले आफ्नो ज्यान जोगाउन बाध्य भएर गोली चलाएको बताए । जवाफी फायरिङकै क्रममा सिटी सफारी चालक साहलाई गोली लागि घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
घटनापछि स्थानीय बासिन्दाले सशस्त्र प्रहरीले चलाएको गोलीका कारण निर्दोष व्यक्तिको मृत्यु भएको भन्दै विरोध प्रदर्शन गरेका छन् । पूर्वपश्चिम राजमार्गको लौकी सडक खण्डमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । जसका कारण यातायातका साधन सञ्चालनमा अवरोध पुगेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी केशप कुमार थेबेले बताए ।
उनीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। केही समय घटनास्थल वरपर तनावको अवस्था सिर्जना भए पनि सुरक्षाकर्मीको उपस्थितिले अवस्था नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले बताए ।
सुनसरी प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतबाट तस्करी गरी ल्याइएको चिनीसहित सिटी सफारी बरामद गरिएको पुष्टि गरेका छन् । उनले तस्कर समूहले सशस्त्र प्रहरीमाथि गोली चलाएको हो वा होइन भन्ने विषयमा विस्तृत छानबिन गरिने जानकारी दिएका छन् । सशस्त्र प्रहरीले भने आत्मरक्षाका लागि मात्रै गोली चलाएको दाबी गरेको छ।
घटनास्थलबाट भारतीय बजारबाट तस्करी गरी ल्याइएको चिनी लोड गरिएको नेपाली नम्बर प्लेटको सिटी सफारी बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।