— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ ।
नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् ।
माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज तलासका लागि ९ सय २० जनाको निवेदन परेकोमा ५ सय ९३ जना फेला परेका छन् ।
माइती नेपालले सन २०२५ भरी गरेका कामको प्रतिवेदन औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार सीमाबाट उद्धार, पारिवारिक पुनर्मिलन, खोजतलास, लैङ्गिक तथा घरेलु हिंसा, मुद्दा दर्ता र समाधानका क्षेत्रमा संस्थाले उल्लेखनीय काम गरेको देखिन्छ ।
उक्त अवधिमा सीमाबाट ठूलो संख्यामा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार गरिएको छ । साथै, हराइरहेका व्यक्ति खोजी तथा पारिवारिक पुनर्मिलनका घटनाहरू पनि निरन्तर बढ्दै गएको तथ्यांकले देखाउँछ ।
त्यसैगरी, घरेलु हिंसा, लैङ्गिक हिंसा तथा अन्य सामाजिक अपराध सम्बन्धी उजुरीहरूमा परामर्श, मुद्दा दर्ता र समाधान प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइएको माइती नेपालले जनाएको छ ।
माइती नेपालले आगामी दिनमा पनि सीमा क्षेत्रमा हुने मानव बेचबिखन नियन्त्रण, हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण, कानुनी सहयोग र सामाजिक पुनस्र्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने कार्यक्रम संयोजक केशव कोइरालाले बताए ।
अहिले सामाजिक सञ्जालबाट बढ्दै गइरहेको मानव बेचबिखनको समस्या लाई कम गर्न अझै बढी सक्रियता आवश्यक छ । उनले भने, ‘विपन्न तथा निरक्षर भन्दा पनि पढेलेखेका मध्यम वर्गीय महिलाहरू पनि मानव बेचबिखनको जोखिममा छन् ।’