: नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ। पार्टी कार्यालय सानेपामा जारी कांग्रेसको कार्यसम्पादन बैठकले वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त मिति प्रस्ताव गरेका हुन्। उनले महाधिवेशनको नयाँ कार्यतालिका नै प्रस्तुत गरेका हुन्। जसअनुसार माघ ७ गतेभित्र क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली पठाउनुपर्ने, माघ १५ गतेभित्र केन्द्रले त्यसलाई स्वीकृत गर्नुपर्ने र माघ २९ गतेदेखि अधिवेशन सुरू गरिने कार्यतालिकामा उल्लेख छ।
त्यस्तै चैत २१ गते गाउँ र नगर वडा अधिवेशन, चैत २५ गते गाउँ र नगरपालिका अधिवेशन, चैत २८ गते क्षेत्रीय अधिवेशन, वैशाख २ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला वैशाख ५ गते अधिवेशन गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै प्रदेश अधिवेशन भने वैशाख १०, ११ र १२ गते प्रस्ताव गरिएको छ।