— बंगलादेशमा १२ फेब्रुअरीमा हुने चुनावका लागि दलहरु तयारीमा जुटेका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका ५९ वटामध्ये ५१ वटा दलले यस निर्वाचनका लागि आफ्ना उम्मेदवार उठाएका छन् । उम्मेदवारी दर्ताको अन्तिम समयसीमा २९ डिसेम्बरभित्र ती दलबाट २ हजार ९१ जना तथा ४ सय ७८ जना स्वतन्त्रगरी कुल २५ सय ६९ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
३ सय सिटका लागि हुने प्रत्यक्षतर्फको निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बिएनपी) बाट देशका सबेै क्षेत्रमा उम्मेदवारी परेको छ । आकांक्षीको व्यवस्थापन हुन नसक्दा कतिपय ठाउँमा एकभन्दा बढी उम्मेदवार उठेका छन् । बीएनपीबाट कुल ३ सय ३१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, जमात्–ई–इस्लामीले २ सय ७६ सिटमा उम्मेदवार उठाएको छ । नेशनल सिटिजन पार्टी (एनसिपी) बाट ४४ जनाले उम्मेदवारी दिएका छन् । यी दुई पार्टीसँगै ११ वटा पार्टीहरुले गठबन्धन गर्दैछन् । तर, मनोनयन दर्ता हुँदासम्म सिट बाँडफाँड टुंगिसकेको छैन ।
शेख हसिना सरकारलाई अपदस्थ गर्नेगरी जुलाई २०२४ मा चलेको आन्दोलनको अग्रमोर्चामा रहेका विद्यार्थीहरुले एनसिपीको नेतृत्व गरिरहेका छन् । चुनावमा इस्लामी आन्दोलन बंगलादेशले २ सय ६८, जातीय पार्टीले २ सय २४, बंगलादेश खलिफत माजलिस ९४, गोनो ओदिकर परिषद्ले १ सय ४, बंगलादेश कम्युनिष्ट पार्टीले ६५, अमर बंगलादेश पार्टीले ५३ र बंगलादेश समाजतान्त्रिक दलले ४१ जना उम्मेदवार उठाएका छन् । २० जनवरीसम्म मनोनयन फिर्ताको समय तोकिएको छ । २१ जनवरीमा उम्मेदवारको अन्तिम सुची र चुनाव चिन्ह सार्वजनिक गरिनेछ ।
सन् २०२४ को निर्वाचनमा बहुमत ल्याएको शेख हसिना नेतृत्वको अवामी लिग यस निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट बन्चित छ । यस पार्टीका केही नेता-कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अवामी लिग प्रतिबन्धित हुँदाको फाइदा अन्य प्रतिस्पर्धी दलहरूलाई हुनेछ ।
Hardik IVF
Laxmi Sunrise bank
' स्वतन्त्रतापछि जमात् ईस्लामीलाई १५ वर्षजति प्रतिबन्ध लगाइएको थियो,' बंगलादेशका पत्रकार मुक्तादिर रसिदले भने, ' अहिले जमात्का नेताहरू अवामीमाथि प्रतिबन्ध लगाउन हात धोएर लागे । यो एउटा बदलाप्रयास हो । यसका बाबजुद पनि स्वतन्त्र उम्मेदवारी दिन अवामी लिगका नेता कार्यकर्तालाई रोक छैन ।'
प्रमुख पार्टी
बंगलादेश नेशनल पार्टी : १९७८ मा जियाउर रहमानले यस पार्टीको स्थापना गरेका हुन् । यस पार्टीमा उनकी पत्नी खालिदा जिया विगत चार दशक अध्यक्ष थिइन् । केही दिनअघि मात्रै अध्यक्ष जियाको निधन भएको छ । उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री थिइ्न ।
आमाको निधनभन्दा केही दिनअघि मात्रै १७ वर्षे निर्वासनबाट स्वदेश फर्किएका तारिक रहमान पार्टीको कार्यकारी अध्यक्ष हुन् । बंगलादेशमा रहमानको चर्चा भावी प्रधानमन्त्रीका रुपमा छ । स्वदेश फर्किएलगत्तै रहमानको स्वागतमा बिएनपीले आयोजना गरेको सभामा ओर्लिएको जनसागरले उनलाई पक्षमा नारा लगाएको थियो ।
दक्षिणपन्थी–मध्यमार्गी धारको यस पार्टीले बंगलादेशी राष्ट्रवाद, आर्थिक उदारीकरण र भ्रस्टाचार न्युनीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । महिला, विद्यार्थी, श्रमिक, किसान, युवालगायत क्षेत्रमा पार्टीका भातृसंगठनहरु फैलिएका छन् ।
बंगलादेशमा परम्परागत दुई ठूला पार्टीमध्ये बीएनपी एक हो । अर्को ठूलो पार्टी अवामी लिगलाई यस निर्वाचनमा सहभागी हुन बञ्चित गरिएको छ । अवामी लिग शेख हसिना नेतृत्वको पार्टी हो । परम्परागत प्रतिस्पर्धी तथा सबैभन्दा ठूलो जनसंगठन भएको पार्टी निर्वाचनबाहिर रहदाँको फाइदा बीएनपीले उठाउने धेरैको अनुमान छ ।
सैनिक सत्ता ढालेर लोकतन्त्र ल्याउन ८०–९० को दशकमा चलेको संघर्षमा बिएनपी र अवामी लिग दुबै अग्रमोर्चामा थिए । सन् १९९१ मा लोकतन्त्र पुनबर्हालीपछि भएको निर्वाचनमा बीएनपीले पहिलो स्थान हासिल गरेको थियो । तर, १९९६ मा अवामी लिगले बहुमत ल्यायो ।
सन् २००१ मा फेरि पहिलो पार्टी बनेर बिएनपी सत्तामा आयो । २००६ मा सैनिक शासन र दुई वर्षपछि अवामी लिग सत्तामा आउँदा बिएनपी क्रमशः कमजोर हुँदै गयो । शेख हसिनाले बिएनपीका नेता–कार्यकर्तालाई पक्राउ गर्ने र झुठा मुद्दा लगाउने काम गरेकी थिइन् । बदलामा बिएनपीले २०१४ र २०२४ को निर्वाचन बहिस्कार ग¥यो । गत वर्ष चलेको विद्यार्थी आन्दोलनले शेख हसिनालाई अपदस्थ गरेपछि बनेको मोहम्मद युसुफ नेतृत्वको अन्तरिम सरकारले बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गरिदिएको थियो । त्यस्तै, तारिक रहमानमाथि लगाइएको झुठा मुद्दा पनि फिर्ता लियो ।
जमात्- ई -इस्लामी नेतृत्वको गठबन्धन : भारतमा ब्रिटिस शासन छँदा सैइद अबुल अलाह माउदूदीले १९४१ मा यो अभियान सुरु गरेका थिए ।
१९७१ मा जमात् ई–इस्लामी पाकिस्तानले पूर्वी पाकिस्तानको विभाजनलाई अस्विकार गर्दै इस्लामावादको केन्द्र सरकारलाई साथ दियो । त्यहीकारण, बंगलादेश स्वतन्त्रतापछि यस पार्टीमाथि सरकारले प्रतिबन्ध लगायो ।
यस्ता धेरै धार्मिक समुहमाथि त्यसबेला प्रतिबन्ध थियो । सन् १९७६ मा प्रतिबन्ध फुकुवापछि धार्मिक पार्टीका नेताहरुलाई पनि सभा–सम्मेलन राजनीतिक गतिविधि गर्ने अवसर प्राप्त भयो ।
त्यसपछि सन् १९७९ मा जमात्–ई–इस्लामीको बंगलादेश शाखा गठन भयो । सैनिक शासनविरुद्ध १९९० को आन्दोलनमा यस पार्टीले सक्रिय सहभागिता जनायो । सन् २००१ मा बीएनपी नेतृत्वको गठबन्धन सरकारमा यस पार्टी दुईवटा मन्त्रालय लिएर सहिभागी भएको थियो ।
दक्षिणपन्थी धारको यस पार्टी इस्लामिक विचारधाराको प्रचार, बंगलादेशी संस्कृतिको संरक्षण र सुधारवादबाट प्रेरित छ । सन् २०१३ मा शेख हसिना सरकारले धार्मिक कट्टरपन्थमा गएको भन्दै पार्टीलाई निर्वाचनमा सहभागी हुन रोक लगाएको थियो ।
पार्टीका धेरै नेता तथा कार्यकर्तालाई १९७१ को मुद्दा (स्वतन्त्रता अभियानमाथि दमन गरेको) ब्युताँएर जेलमा हालियो । यसपटक यस पार्टीले बृहद गठबन्धन निर्माण गरेको छ । शेख हसिना सरकारलाई अपदस्थ गर्न महत्वपूर्ण भूमिका खेलेका युवाहरुले गठन गरेको वैकल्पिक शक्ति एनसिपी यही गठबन्धनमा मिल्न आएको छ ।
यद्यपी, गठबन्धनमा समाहित हुने एनसिपी नेतृत्वको निर्णयसँग सबै युवा खुसी छैनन् । झन्डै ३० जना प्रभावशाली विद्यार्थी नेताहरुले एनसिपीका मुख्य नेता नाहिद ईस्लामलाई पत्र लेखेर आफ्नो असन्तुष्टी अभिव्यक्त गरिसकेका छन् ।
विद्यार्थी आन्दोलनको माग कुनै धर्म विशेषको प्रवद्र्धन नभएर नातावाद अन्त्य र भ्रस्टाचारको विरोध रहेको उनीहरुले बताएका छन् ।
प्रारम्भिक सुची दर्ता हुँदासम्म गठबन्धनका साझेदार दलबीच सिट बाँडफाँडको विषय टुंगिएको छैन । यस विषयलाई चाडैं टुंग्याइने पार्टीका अमिर सफिकुर रहमानले बताएका छन् ।
उनले चुनावपछि संयुक्त सरकार बनाउने विषयमा पनि पार्टीले छलफल गर्ने बताएका छन् । भ्रस्टाचारविरुद्धको लडाइँलाई मुख्य मुद्दा बनाइने उनले बताएका छन् ।
प्रमुख मुद्दा
जुलाई २०२४ को आन्दोलनमा विद्यार्थीहरुले उठाएको सुशासनको मुद्दा नै यसपटक पनि प्रमुख दलहरुले चुनावमा उठाइरहेका छन् । नयाँ संविधान, न्यायिक सुधार, स्वतन्त्र प्रेस, स्वास्थ्य र शिक्षामा पहुँचलगायतका मुद्दालाई प्रमुख पार्टीले अघि सारेका छन् ।
अस्थिरता अन्त्य गरेर आर्थिक सुधार हासिल गर्न पनि यस चुनाव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । शेख हसिना कार्यकालमा सन् २०२० सम्म बंगलादेशको आर्थिक वृद्धिदर निकै राम्रो थियो ।
तर, कोभिड महामारीको ठूलो असर यहाँका उद्योग–धन्दामा ठूलो असर देखियो । प्राकृतिक स्रोत निकै कम भएकाले यसले देशले उर्जाका लगभग सबै स्रोतहरु आयात गर्छ ।
पछिल्लो समय भारतसँग बिग्रदों सम्बन्ध तथा चीन, पाकिस्तान र टर्कीसँगको निकटता पनि जोखिमरहित छैन ।