मुख्य समाचार
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा

— अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।

अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्‍यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।

अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए । ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्युयोर्कमा उनीमाथि मुद्दा चलाउने बताएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले सैनिक स्रोतलाई उद्धृत गरेअनुसार मदुरो र उनकी पत्नीलाई बेडरुमबाटै तानेर अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । करिब १० घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा मदुरोको तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिरमा मदुरोको आँखामा कालो पट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । कानमा भने हेडफोन छ । मदुरो दम्पतीलाई युद्धपोतमा राखेर न्युयोर्कतर्फ लगिँदै गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन् । उनले आवश्यक परे भेनेजुएलामा अर्को आक्रमणका लागि अमेरिका तयार रहेको पनि बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर यसअघि अमेरिकाले निकै उत्कृष्ट ढंगले अपरेसन चलाएकाले अर्को हमला जरुरी नपर्न सक्छ ।’

उनले भेनेजुएलामा उपयुक्त सत्ता हस्तान्तरण प्रक्रिया सुरु हुने तर त्यो पूरा नभएसम्म अमेरिकाले नै शासन गर्ने बताएका छन् । त्यस्तै अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको विकासको नेतृत्व गर्ने दाबी पनि उनले गरेका छन् । ‘सुरक्षित, न्यायिक र उपयुक्त तरिकाले सत्ता हस्तान्तरण नभएसम्म त्यहाँको सत्ता अमेरिकाले चलाउने छ । अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पूर्वाधार निर्माणको नेतृत्व गर्नेछन्,’ उनले फ्लोरिडास्थित आफ्नो निजी निवास मार–लागोमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।

सीबीएस न्युजका अनुसार अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ निकट स्रोतले मदुरोको ठेगाना पत्ता लगाउन अमेरिकी सेनाको डेल्टा फोर्सलाई सहयोग गरेको थियो । यसका लागि महिनौंदेखि योजना बनाइएको थियो । राष्ट्रपति मदुरो पक्राउ परेसँगै उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजको हातमा स्वतः कार्यकारी अधिकार आएको छ । रोड्रिग्वेजले अमेरिकी आक्रमणको निन्दा गर्दै आफ्ना राष्ट्रपति र प्रथम महिलाको अवस्थाबारे भेनेजुएला सरकारलाई अमेरिकाले कुनै जानकारी नदिएको बताएकी छन् ।



उनले भनेकी छन्, ‘अमेरिकी आक्रमणमा हाम्रा सैनिक अधिकारी र सर्वसाधारण नागरिक सहिद भएका छन् । भेनेजुएलाका जनताले सम्पूर्ण शक्तिका साथ अमेरिकी आक्रमणको प्रतिवाद गर्नेछन् । म हाम्रा राष्ट्रपतिको जीवनको सुरक्षा स्थितिबारे जानकारी दिन अमेरिकासँग माग गर्दछु र यो गैरकानुनी आक्रमणको विषयमा आफ्नो धारणा बनाउन विश्व समुदायलाई आग्रह गर्दछु ।’ त्यस्तै भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पेडरिनो लोपेजले यस लडाइँमा कुनै सम्झौता नहुने बताएका छन् । ‘हामी सफल हुनेछौं । आत्मसमर्पण गर्ने छैनौं,’ उनले भनेका छन् ।

भेनेजुएला सरकारले यसलाई आफ्नो देशको तेल भण्डारमाथि अमेरिकी वक्रदृष्टिका रूपमा व्याख्या गरिरहेको थियो । भेनेजुएला संसारकै सबैभन्दा ठूलो मध्येको तेल भण्डार भएको मुलुक हो । ट्रम्पले २४ मार्च २०२५ मा भेनेजुएलासँग तेल खरिद गर्ने देशमाथि २५ प्रतिशत अतिरिक्त भन्सार कर लगाउने घोषणा गरेका थिए ।

गत २ सेप्टेम्बरमा अमेरिकी सेनाले भेनेजुएलासँग जोडिएका क्यारेबियन सागर र उत्तर एटलान्टिक महासागर हुँदै आउजाउ गर्ने डुंगामाथि लागूऔषध कारोबारको आशंकामा गोली चलाएको थियो । लागूऔषध कारोबारको आरोपमा अमेरिकाले भेनेजुएला हुँदै आउने डुंगामाथि ३३ पटक आक्रमण गरिसकेको छ । यसक्रममा १ सय १२ जनाको मृत्यु भएको छ । अमेरिकाको उक्त कारबाही अमानवीय रहेको भन्दै मानवअधिकारवादी संस्थाहरूले भर्त्सना गरिरहेका छन् ।

भेनेजुएलामा गोप्य अपरेसन सञ्चालन गर्न सीआईएलाई अनुमति दिइएको खुलासा ट्रम्पले १५ अक्टोबरमा गरेका थिए । त्यस्तै, १४ नोभेम्बरमा क्यारेबियन क्षेत्रमा अमेरिकाले विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत ‘यूएसएस गेराल्ड आर फर्ड’ तैनाथ गरेको थियो । ठूलो संख्यामा विमान तथा झन्डै १५ हजार अमेरिकी सेना आक्रमणका लागि तम्तयार पारिएको थियो ।

१० डिसेम्बरमा अमेरिकाले भेनेजुएलाबाट आएको एउटा तेलको ट्यांकर कब्जा गरेको थियो । भेनेजुएलाले यसलाई ‘डकैती’ को संज्ञा दिएको थियो । त्यसको केही दिनभित्रै अमेरिकाले अर्को ट्यांकर कब्जा गर्‍यो । त्यस्तै ३० डिसेम्बरमा भेनेजुएलाको बन्दरगाहमा सीआईएले ड्रोन हमला गरेको थियो ।

अमेरिकाले चौतर्फी घेरा हालेपछि दुई दिनअघि मात्रै मदुरोले वार्ताका लागि आफू तयार रहेको बताएका थिए । ‘उनीहरूले जहाँ, जहिले भन्छन् । म वार्ताका लागि जान तयार छु,’ उनले बिहीबार सरकारी टेलिभिजनमार्फत भनेका थिए । चेभोरोन कम्पनीलाई तेल उत्खनन र व्यापारका लागि भनेको ठाउँमा अनुमति दिन आफू तयार रहेको पनि उनले बताएका थिए । तर ट्रम्पले बल प्रयोगको बाटो रोजेका छन् ।

रुसले अमेरिकी आक्रमणको निन्दा गर्दै तत्कालै निकोलस मदुरो र उनकी पत्नी फ्लोरेसलाई रिहा गर्न अमेरिकासँग माग गरेको छ । ‘भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी अमेरिकी नियन्त्रणमा रहेको खबर पुष्टि भइसकेको अवस्थामा हामी एउटा सार्वभौम देशका वैध ढंगले निर्वाचित राष्ट्रपति र उनकी पत्नीलाई रिहा गर्न अमेरिकाको नेतृत्वलाई आग्रह गर्छौं,’ रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मदुरोलाई नियन्त्रणमा लिने कार्यको चीनले पनि निन्दा गरेको छ । ‘एक सार्वभौम राष्ट्र र त्यहाँका राष्ट्रपतिविरुद्ध अमेरिकाले गरेको बल प्रयोगको घटनाले चीन स्तब्ध छ र यसको भर्त्सना गर्छ । अमेरिकाको यस्तो अहंकारी कार्यले अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमसत्तालाई गम्भीर क्षति पुगेको छ । ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रमा शान्ति तथा सुव्यवस्थामा खलल पुर्‍याएको छ । चीन यसको विरुद्धमा छ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ । भेनेजुएलामाथि अमेरिकी आक्रमणप्रति कोलम्बिया, बोलिभिया, क्युवा, इरान, चिली, मेक्सिकोलगायत मुलुकले पनि विरोध गरेका छन् ।

स्पेनले दुवै पक्षलाई संयम बन्न आग्रह गर्दै शान्ति वार्ताका लागि मध्यस्थता गर्न तयार रहेको जनाएको छ । जर्मनी र इटालीले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

अमेरिकासँगको सहकार्यमा भेनेजुएलाका जनता धनी, स्वतन्त्र र सुरक्षित हुने ट्रम्पको दाबी छ । ‘भेनेजुएलामा अहिले तेलको व्यापार ठप्प छ, अमेरिकी ठूला कम्पनीहरू गएर त्यहाँका पूर्वाधार निर्माण गर्ने र देशका लागि पैसा कमाउन थाल्नेछन्,’ उनले भने, ‘यस्तो निर्णयबाट अमेरिकामा बस्ने भेनेजुएलाका मानिसहरू निकै खुसी हुनेछन् । उनीहरूले थप प्रताडित हुनुपर्ने छैन ।’

तिक्ततापूर्ण इतिहास

शीतयुद्धको अवधिमा भेनेजुएला र अमेरिकाबीच निकै राम्रो सम्बन्ध थियो । भेनेजुएलाको अर्थतन्त्र अमेरिकालाई तेल बेचेरै चल्ने गरेको थियो । भेनेजुएलाका अधिकांशः पेट्रोल खानी पनि अमेरिकी निजी कम्पनीकै स्वामित्वमा थिए । सन् १९९९ मा कम्युनिस्ट नेता हुगो चाभेज सत्तामा आएसँगै अमेरिकासँग सम्बन्ध बिग्रन थाल्यो ।

अमेरिकाले दक्षिण अमेरिकामा साम्राज्यवादी र हस्तक्षेपकारी नीति अपनाएको भन्दै चाभेज चर्को आलोचना गर्थे । सत्तामा आएपछि उनले पेट्रोल उद्योगहरूलाई सरकारीकरण गर्न थाले । उनका नीतिहरूले अमेरिका चिढियो । अमेरिकाले नाकाबन्दी लगाएपछि क्युवा, इरान र रुससँग भेनेजुएला नजिकिँदै गयो ।

२०१३ मा चाभेजको निधन भएपछि उनका सहयोगी निकोलस मदुरो राष्ट्रपति बने । अमेरिकासँगको खराब सम्बन्ध यथावतै रह्यो । अमेरिकामा सन् २०१७ मा ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यो सम्बन्ध थप बिग्रियो । ट्रम्पले भेनेजुएलामाथि नाकाबन्दी मात्रै गरेनन्, भेनेजुएलासँग तेल खरिद गर्ने राष्ट्रलाई पनि नाकाबन्दी गर्ने धम्की दिए । भेनेजुएलाको अर्थतन्त्र बिग्रिएर राष्ट्रिय संकट सुरु भयो । यही मौकाको फाइदा उठाएर जनवरी २०१९ मा भेनेजुएलाको राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष जोआन गुएदोले आफैंलाई राष्ट्रपति घोषणा गरे ।

गुएदोको दाबीलाई अमेरिका, युरोपेली युनियन र अन्य धेरै पश्चिमा मुलुकले समर्थन गरे । तर, भेनेजुएलाको सेनाले मदुरोलाई नै साथ दियो । यसपछि मदुरो अझै शक्तिशाली भए । ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर मार्च २०२० मा अमेरिकी कानुन मन्त्रालयले मदुरोलाई आतंककारी घोषणा गर्‍यो ।

उनीबारेको सूचना दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरियो । मदुरो सरकारका मन्त्रीहरू डिओसदादो काबेल्लो र भ्लादिमिर पेडरिनोलाई पनि आतंककारीको सूचीमा राखिएको थियो । उनीहरूविरुद्ध लागूऔषधको अवैध कारोबार गरेको अभियोग लगाइएको थियो ।

नोभेम्बर २०२० को निर्वाचनमा ट्रम्पलाई हराएर जो बाइडेन अमेरिकामा राष्ट्रपति चुनिए । बाइडेन प्रशासनले पनि मदुरोमाथि लागेको अभियोग फिर्ता लिएन । तर बाइडेन प्रशासनसँग संवाद र छलफल जारी रह्यो । बाइडेन प्रशासनले भेनेजुएलासँगका वैचारिक र सैद्धान्तिक असहमतिको साटो व्यावहारिक पक्षमा ध्यान दिएको थियो । यो समय अमेरिकाले थोरै परिमाणमा भए पनि भेनेजुएलासँग तेल किन्यो ।

भेनेजुएलाको तेलको अन्तर्राष्ट्रिय बजारमा कुनै अवरोध सिर्जना गरेन । सन् २०२४–२०२५ सम्म केही कम्पनीको लाइसेन्स पनि नवीकरण गरिएको थियो । बदलामा भेनेजुएलाले पनि अमेरिकाबाट डिपोर्ट भएका आफ्ना नागरिकलाई फिर्ता लियो । दुवै देशले कैदी साटासाट गरे । ट्रम्प आएको केही समयमै २६ फेब्रुअरी २०२५ मा तेलमा भेनेजुएलालाई दिइएका सबै सुविधा खारेज गरियो ।

विवादका मुख्य ५ कारण

लागूऔषध तस्करी : अमेरिकामा लागूऔषध आपूर्ति गर्नेहरूलाई भेनेजुएलाले संरक्षण दिइरहेको ट्रम्पको आरोप छ । दक्षिण अमेरिकी देशबाट भेनेजुएला हँॅदै युरोप र अमेरिकातर्फ ठूलो परिमाणमा कोकिन गइरहेको उनले दाबी गर्दै आएका छन् ।

अमेरिकाले ट्रम्पको पहिलो कार्यकालका बेला मार्च २०२० मा ‘कार्टेल दे लोस सोलेस’ लाई आतंकवादी संगठन र मदुरोलाई यसको नेता घोषणा गर्‍यो, जसअनुसार उनलाई खोजीको सूचीमा राखियो । सूचना दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने भनियो । गत अगस्टमा भने पुरस्कार राशि ५ करोड अमेरिकी डलर पुर्‍याइयो ।

मदुरो र उनका निकट व्यक्तिहरूले ड्रग्सको कारोबारका लागि ‘कार्टेल दे लोस सोलेस’ प्रयोग गरिरहेको ट्रम्प र अमेरिकाको आरोप छ । यसमा भेनेजुएलाको सेनासमेत संलग्न रहेको अमेरिकी आरोप छ । भेनेजुएलाको छिमेकी कोलम्बिया विश्वको सबैभन्दा ठूलो कोकिन उत्पादक हो । त्यहाँबाट भेनेजुएला हुँदै अमेरिकामा कोकिन आउने गरेको ट्रम्पको आरोप छ । मदुरोले भने ‘कार्टेल दे लोस सोलेस’ नामको कुनै समूह नरहेको दाबी गर्दै आएका छन् ।

मोनरो डक्ट्रिन : ट्रम्पको विदेश नीति भेनेजुएलासँगको तनावको अर्को कारण हो । उनले १९ औं शताब्दीको मोनरो सिद्धान्तलाई पछ्याइरहेका छन्, जसले पृथ्वीको पश्चिमी गोलार्धलाई अमेरिकाको प्रभाव क्षेत्र मान्छ । ट्रम्पले त्यस क्षेत्रमा चीनलाई सैन्य अड्डा र महत्त्वपूर्ण खनिजजस्ता स्रोतमा पहुँच दिन नहुने बताइरहेका छन् । तर अमेरिकासँग सम्बन्ध बिग्रिएयता भेनेजुएला सरकारले चीनसँग ऊर्जा र खनिजसम्बन्धी सम्झौता गरेको छ । त्यस्तै, इरान र रुससँग पनि उसले सहकार्य बढाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भेनेजुएला महत्त्वपूर्ण रहेको ट्रम्पको बुझाइ छ ।

ट्रम्पको चाहना भेनेजुएलामा अमेरिकासँग निकट रहने सरकार बनाउने हो । विगतमा ट्रम्पले गुएदोको दाबी (राष्ट्रपति घोषणा) लाई समर्थन गरे पनि मदुरोलाई सत्ताच्युत गर्न सकेनन् । भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले ट्रम्पको नीतिमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी छन् ।

तेल : भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार हो । तर प्रचुर स्रोत हुँदाहुँदै पनि तेल उत्पादन निकै कम छ । वर्षौंदेखि अमेरिकी प्रतिबन्ध झेलेकाले तेल उत्खननका लागि आवश्यक लगानी र उपकरणको अभाव छ । पछिल्ला वर्षहरूमा चीनले त्यसमा सहयोग गर्दै आएको छ । भौगोलिक रूपमा अमेरिकासँग निकै नजिक रहेको मुलुक चीन र रुससँग निकट हुँदा अमेरिकाले निको मानेको छैन ।

सन् १९९८ अघिसम्म भेनेजुएलाका अधिकांशः पेट्रोल खानी अमेरिकी निजी कम्पनीको स्वामित्वमा थिए । १९९८ मा कम्युनिस्ट नेता हुगो चाभेज सत्तामा आएसँगै तेल उद्योगहरूलाई सरकारीकरण सुरु गरिएपछि अमेरिकासँग सम्बन्ध बिग्रियो । अहिले भेनेजुएलामा अमेरिकाको एउटै मात्र कम्पनी बाँकी छ– चेभोरोन । वासिङ्टनले आफ्नो देशको तेलमा आँखा गाढेको मदुरोको आरोप छ । भेनेजुएलामा सुन, बक्साइट र बहुमूल्य ढुंगा तथा धातुका खानी पनि छन् ।

क्युवा–इरान : अमेरिकी विदेशमन्त्री मार्की रुबियोसहित ट्रम्पका निकट सहयोगीहरू क्युवाको कम्युनिस्ट सरकार ढाल्नुपर्ने पक्षमा छन् । अमेरिकी प्रतिबन्ध झेलिरहेको भेनेजुएलाले आफ्नो तेल क्युवामा पठाउँछ र क्युवाबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ । मदुरो सरकार र क्युवाका राष्ट्रपति मिगेल डियाज–कानेल दुवैलाई सत्तामा रहिरहन यस सम्बन्धले ठूलो भूमिका खेलेको छ । अर्कोतर्फ इरानमा पनि सत्ता परिवर्तन गर्ने ट्रम्पको योजना छ ।

भेनेजुएलाले इरानमा पनि तेल पठाउने गरेको र इरानले उक्त तेल सस्तोमा अन्यत्र बेच्दै आएको ट्रम्प प्रशासनको आरोप छ । त्यही रकमबाट इरानले पश्चिम एसियामा उग्रवादी समूह सञ्चालन गरिरहेको र अमेरिकी स्वार्थमा बाधा पुर्‍याएको ट्रम्पको आकलन छ ।

आप्रवासन : अमेरिकामा ठूलो संख्यामा भेनेजुएलाका नागरिक अवैध बसोबास गर्छन् । सन् २००० देखि २०२१ सम्म अमेरिकामा बसोबास गर्ने भेनेजुएलाका नागरिकको संख्या ९५ हजारबाट बढेर ६ लाख ४० हजार पुगेको ‘प्यु रिसर्च सेन्टर’ को तथ्यांक विश्लेषणले देखाउँछ । मदुरो सरकारले जानाजान अमेरिकामा शरणार्थी पठाउने गरेको ट्रम्पको आरोप छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ। अमेरिकाले जारी गरेको सुरक्षा सतर्कतामा आर्मेनिया वा टर्की हुँदै इरान छोड्न कुरामा पनि विचार गर्न आग्रह गरिएको छ। अमेरिकाले त्यहाँ रहेका नागरिकलाई सञ्चारका वैकल्पिक उपायका बारेमा सोच्न तथा सुरक्षित रहन पनि आग्रह गरेको छ। इरानमा हाल सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट सेवामा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची ओमान पुगेका छन्। उनले शुक्रबार राजधानी मस्कटमा अमेरिकी राजदूतहरूसँग वार्ता गर्ने कार्यक्रम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरानविरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएका छन्। इरानले आणविक मुद्दामा वार्ता गर्न तयार रहेको बताएको छ। तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा वार्ता नगर्ने ...
: रुसको राजधानी मस्कोमा रुसी सेनाका जनरलमाथि गोली प्रहार भएको छ। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभलाई गोली हानी घाइते बनाइएको हो। शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको भोलोकोलाम्स्कोय राजमार्ग नजिकैको एक आवासीय भवनमा उनीमाथि आक्रमण भएको बीबीसीमा समाचार छ। आक्रमणपछि गम्भीर घाइते अलेक्सेयेभलाई तत्काल अस्पतालमा भर्ना गरिएको भए पनि उनको स्वास्थ्य अवस्थाबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा सीले ताइवानलाई चीन–अमेरिका सम्बन्धको 'सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मुद्दा' का रूपमा उल्लेख गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले ताइवानलाई हतियार उपलब्ध गराउने विषयमा अमेरिका ‘सावधानी’ अपनाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्। उनले यस कदमले क्षेत्रीय स्थिरता र दुई देशबीचको सम्बन्धमा ...
डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिईरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ । आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामग्रीहरू गुमाएको एमएसएफले बताएको छ । दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र ...