:मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने संसारीमाई मन्दिरमा चोरी भएको छ । देवीप्रति गहिरो श्रद्धा राख्ने हजारौँ भक्तजनको आस्थासँग जोडिएको मन्दिरमा अज्ञात समूहले रातको समयमा योजनाबद्ध रूपमा प्रवेश गरी मूर्ति,गरगहना र नगद चोरी गरेको पाइएको हो । घटना सार्वजनिक भएपछि स्थानीय समुदायमा आक्रोश र चिन्ता छाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अज्ञात समूहले मन्दिरको च्यानल गेटमा लगाइएको ताल्चा फोडेर भित्र प्रवेश गरी मूर्ति,नगद र गरगहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी भएको जानकारी मन्दिरका मेनेजर पंकज झाले आइतबार बिहान प्रहरीलाई दिएपछि मात्रै घटना बाहिर आएको हो ।
बिहान पूजापाठको तयारीका क्रममा मन्दिरको अवस्था असामान्य देखिएपछि चोरी भएको आशंका गरिएको थियो । प्रहरीका अनुसार मन्दिरबाट संसारी माताका दुई थान साना मूर्ति,ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना र दानपेटिकाको सिसा फोडेर त्यहाँ संकलन भएको नगद चोरी भएको पाइएको छ ।
दानपेटिकामा कति रकम थियो भन्ने यकिन विवरण भने मन्दिरको नियमित हिसाबकिताब र अभिलेख जाँचपछि मात्र खुल्ने डीएसपी चुँडालले बताइन् । चोरी कुन समयमा भएको हो भन्ने विषय पनि हालसम्म स्पष्ट भइसकेको छैन । तर,मन्दिर राति सुनसान हुने समयको फाइदा उठाउँदै योजनाबद्ध रूपमा चोरी गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा टोली परिचालित भएको थियो । टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा र दानपेटिकाको अवस्था निरीक्षण गर्ने तथा चोरीको सम्भावित समय र तरिका पहिचान गर्ने काम गरिसकेको छ ।
चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भने हालसम्म हुन सकेको छैन । प्रहरीले स्थानीय बासिन्दासँग सोधपुछ गर्नुका साथै विगतमा यस्तै प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूको प्रोफाइल अध्ययन गरेर खोजी कार्य तीव्र पारेको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार चोरीको तरिका हेर्दा घटना एक्लो व्यक्तिले भन्दा समूहले योजनाबद्ध रूपमा गरेको हुन सक्ने सम्भावना देखिन्छ । मन्दिरजस्ता स्थानमा रहेका बहुमूल्य सामग्री,नगद र गरगहनाका बारेमा पहिल्यै जानकारी राखेर चोरी गरिएको हुन सक्ने आशंका पनि गरिएको छ ।
स्थानीयका अनुसार मन्दिरहरूमा नियमित प्रहरी गस्ती,पर्याप्त बत्तीको व्यवस्था,बलियो ताल्चा र आधुनिक निगरानी प्रणाली जस्तै सीसीटीभी जडान नहुँदा यस्ता अपराध दोहोरिन सक्ने जोखिम उच्च छ । चोरी भएपछि मात्रै सुरक्षा चासो देखाउनु दीर्घकालीन समाधान नभई रोकथाममुखी नीति अवलम्बन गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।
स्थानीय समाजसेवी र भक्तजनहरूले मन्दिरजस्तो पवित्र स्थलमा भएको चोरीलाई सामान्य आपराधिक घटनाका रूपमा मात्रै लिन नहुने बताएका छन् । उनीहरूका अनुसार यो घटना धार्मिक आस्था, सामाजिक विश्वास र सामुदायिक भावनामाथिको गम्भीर चोट हो ।
दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग पनि स्थानीयस्तरबाट उठ्न थालेको छ । संसारीमाई मन्दिरमा भएको चोरीले धार्मिक स्थलको सुरक्षा मन्दिर व्यवस्थापनको जिम्मेवारी मात्र नभएर राज्य, प्रहरी र समाजको साझा दायित्व हो भन्ने स्पष्ट सन्देश दिएको स्थानीय बताउँछन् । यदि समयमै प्रभावकारी सुरक्षा व्यवस्था र निगरानी प्रणालीमा ध्यान नदिइए यस्ता घटनाले धार्मिक आस्थासँगै सामाजिक सद्भावमा समेत गहिरो असर पार्ने खतरा रहेको स्थानीयको भनाइ छ ।