— हेटौडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको हेटौंडा—भीमफेदी—कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका—६ जुरीखेतमा आइतबार अपराह्न भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको सनाखत भएको छ ।
हेटौंडा उपमहानगरपालिका—४ का ४० की सविता लम्साल, हेटौंडा—२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ वर्षीय रजनीश कुमार र ४९ वर्षीय अरविन्द कुमारको सनाखत भएको प्रहरीले जनाएको छ । २ जना मृतकको पहिचान हुन सकेको छैन । दुवै पुरुष हुन् । उनीहरुको शव हेटौंडा अस्पतालमा नै रहेको छ ।
हेटौंडा—४ की मृतक सविता हेटौंडास्थित नवोदय शिशु निकेतनकी शिक्षिका पनि हुन् ।
दुर्घटनामा तीन जना घाइते छन् । हेटौंडा—४ मा बस्दै आएका सुमो चालक गणेश थापा, मृतक सविताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर—२ का २१ वर्षीया रिचा चौधरी रहेका छन् ।
चालक थापा र बालक लम्साललाई थप उपचारका निम्ति भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले वताए । चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो । उक्त स्थानमा यसअघि पनि ३ वटा हलुका सवारीसाधन दुर्घटना भएका थिए ।
वैदेशिक रोजगार बोर्डको प्रमुख थानेश्वर देवकोटासहित चढेको गाडी तीन वर्षअघि उक्त स्थानमा दुर्घटना हुँदा देवकोटासहित २ जनाको मृत्यु भएको थियो ।
काठमाडौंतर्फवाट आउँदा ओरालो पर्ने भएकाले गाडीमा ब्रेक नलागेर उक्त स्थानमा दुर्घटना हुने गरेको छ । उक्त जोखिम क्षेत्रमा रेलिङ पनि छैन ।
सुमो दुर्घटनास्थलमै छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ ।