— अमेरिकी सेनाको कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले अमेरिकासँग 'साझा विकास'का लागि सहकार्यको प्रस्ताव गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा थप सैन्य प्रहार हुनसक्ने चेतावनी दिइरहेका बेला रोड्रिग्वेजको यस्तो नरम प्रतिक्रिया आएको हो ।
शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा छापा मारी मदुरोलाई नियन्त्रणमा लिएको थियो । सुरुमा यस कदमलाई 'स्रोत साधनमाथिको अवैध कब्जा' भन्दै कडा आलोचना गरेकी रोड्रिग्वेजले आइतबार भने सामाजिक सञ्जालमार्फत नरम शैलीमा संवादको आह्वान गरेकी छन् ।
'हामी अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही साझा विकास र सहकार्यको एजेन्डामा अघि बढ्न निमन्त्रणा गर्दछौं,' तेल मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी रोड्रिग्वेजले भनेकी छिन्, 'राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र यो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन् ।'
नियन्त्रणमा लिइएका ६३ वर्षीय मदुरोलाई सोमबार न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराइँदैछ । उनीमाथि सन् २०२० मा लगाइएको 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद) को अभियोगमा सुनुवाइ हुनेछ । अमेरिकी अधिकारीहरूका अनुसार मदुरोले सिनालोआ कार्टेल र 'ट्रेन डे अरागुआ' जस्ता आपराधिक समूहलाई सहयोग पुर्याएको र सैन्य बल प्रयोग गरी कोकिन तस्करीमा संलग्न भएको आरोप छ ।
शनिबारको कारबाहीमा मदुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेस पनि पक्राउ परेकी छन् । उनीमाथि अपहरण र हत्याको आदेश दिएको अभियोग थपिएको छ । मदुरोले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् । यो मुद्दाको अन्तिम फैसला आउन अझै केही महिना लाग्न सक्ने अनुमान गरिएको छ ।