— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य आक्रमणलाई लिएर संयुक्त राष्ट्र संघ (यूएन) को भूमिकामाथि कडा प्रश्न उठाएका छन् ।
आइतबार आफ्नो सामाजिक सञ्जालमा तस्बिर जारी गर्दै साम्पाङले विश्व शान्ति र लोकतन्त्रको वकालत गर्ने निकाय यूएनको मौनताप्रति आक्रोश व्यक्त गरेका हुन् ।
गत शनिबार अमेरिकाले निकोलस मदुरोलाई पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिकाको गतिविधिमाथि संयुक्त राष्ट्र संघ मौन रहेको भन्दै साम्पाङले प्रश्न उठाएका छन् ।
नेपालका वामपन्थी दल र अन्य नेताहरूले पनि यसलाई सार्वभौम मुलुकमाथिको हस्तक्षेप भन्दै विरोध गरिरहेका बेला धरानका मेयर साम्पाङले पनि आफ्नै शैलीमा असन्तुष्टि पोखेका हुन् ।
सोमबार उनले फेसबुकमा लेखेका छन्, 'हेलो यूएन !!! भेनेजुएलामाथिको अमेरिकी आक्रमणबारे के सोच्दै हुनुहुन्छ ? तिम्रो कथित लोकतन्त्र कहाँ छ ?'
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले लागुऔषध तस्करीको आरोपमा मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको बताएको छ ।
तर, यस कदमलाई चीन, रुस र अन्य केही मुलुकहरूले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको ठाडो उल्लंघन भनेका छन् ।