: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए।
उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुन्छ।'
उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ । उनले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए ।
उनले फरक प्रशंगमा भने, नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने बताए । आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको बताए ।
भेटमा केन्द्रीय सदस्यहरूको तर्फबाट केन्द्रीय सदस्य पुष्पा भुषालले आफूहरू पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरसँग भेट गरेको बताएकी थिइन् । उनले आफूहरू कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएर समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन्। उनले मध्यमार्गी बाटो पहिल्याउन कोइरालालाई आग्रह समेत गरिन्।
अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत सहभागी थिए।