: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेस र एमालेबाट समान सहभागिता सुनिश्चित गरिएको छ। दुवै दलबाट चार–चार जना मन्त्री र एक–एक जना राज्यमन्त्री सरकारमा सहभागी भएका छन्। सत्ता साझेदार दलहरूबीच भएको भागबण्डाअनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
नयाँ मन्त्रिपरिषदमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन्। भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने तिलचन पाठक (चिन्तन)ले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन्।
यसैगरी, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। रामप्रसाद महतो सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा आएका छन् भने मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय सम्हालेका छन्। इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन्। राज्यमन्त्रीतर्फ शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् भने उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन्।
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले सरकारको कार्यसम्पादनलाई प्रभावकारी, नतिजामुखी र जनउत्तरदायी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन्। उनले सत्तारुढ दलहरूबीचको सहकार्यलाई थप मजबुत बनाउँदै प्रदेश सरकारलाई स्थायित्व र कार्यक्षमताको दिशामा अघि बढाइने दाबी गरे। नयाँ मन्त्रिपरिषद् गठनसँगै कोशी प्रदेश सरकारको आगामी कार्यदिशा, नीति कार्यान्वयन र प्रशासनिक सक्रियताप्रति राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढेको छ।