: नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभामा अन्य दलसँग तालमेल र उम्मेवार चयन गर्ने विषयमा फरक मत राखेका छन्। बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकपछि थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै तालमेलको सैद्धान्तिक आधार नभएको र उम्मेदवार समेत नेताको खल्तीबाट झिकेर चयन गरिएकाले फरक मत राखिएको बताए।
उनले एकलौटी ढंगले उम्मेदवार चयन गरेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएकाले त्यसको स्वामित्व आफूहरूले नलिने स्पष्ट पारे। महामन्त्री थापाले आफूहरूलाई हेप्ने क्रम जारी रहेकाले अब यस्तैगरि पार्टीको काम अघि बढ्न नसक्ने चेतावनी दिए ।
'आज बैठकबाट राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको टुंगो लगाउनुपर्ने। नाम सिफारिस हुन बाँकी नै छ। तर, उम्मेदवारहरू मनोनयन सिफारिस लिएर जिल्ला गइसके। यो त सिधैं केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन भयो। महामन्त्रीलाई हेप्ने काम त छदैछ,'उनले भने,' अब चुप लागेर बसिदैन।'
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन हुने र आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका रहेको छ । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस,एमाले र जसपाबीच तालमेल भएको छ। जसअनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट पाएका छन्।
कांग्रेसले कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवारलाई उम्मेदवार बनाएको छ।