— आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुकुम पश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जिल्ला सदरकाम मुसिकोटमा बुधबार बसेको पार्टीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफरिस गरेको हो । रुकुम पश्चिमबाट शर्मालाई पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको जानकारी दिँदै प्रलोपा रुकुम पश्चिमका नेता दलबहादुर खड्काले पार्टी अब चुनावी गतिविधीमा केन्द्रित हुने बताए । प्रतिनिधिसभा चुनाव फागुन २१ मा हुँदैछ ।
शर्माले २०६४ पछिका सबै निर्वाचनमा साविक माओवादीबाट लगातार जित्दै आएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँग विभिन्न दल एकतामा आएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि शर्मा छुट्टै दल प्रलोपा गठन गरेर संरक्षक बनेका छन् ।
नेकपाले भने रुकुम पश्चिमबाट साविक माओवादी धारका नेता तथा जनार्दनकै पूर्वसहकर्मी गोपाल शर्माको नाम एकल रुपमा सिफारिस गरेको छ ।
कांग्रेस, एमालेलगायतका दलले पनि उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । कांग्रेसले गोपालजिजंग शाह र जिल्ला सभापतिसमेत रहेका प्रेमप्रकाश ओली, एमालेले जिल्ला अध्यक्षसमेत रहेका नन्दराम देवकोटा र माओवादीले नेत्रविक्रम चन्दलाई उम्मेदवार सिफारिस गरेका छन् ।