: नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेदेखि सुरु हुने भएपछि काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ। मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू धमाधम अघि बढाइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार सकेसम्म आजै, नभए भोलि बिहानसम्म सम्पूर्ण भौतिक तयारी सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विशेष महाधिवेशनलाई व्यवस्थित, अनुशासित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारीलाई अन्तिम चरणमा पुर्याइएको हो। महाधिवेशन व्यवस्थापन समितिका अनुसार तयारी कार्य चरणबद्ध रूपमा अघि बढाइँदैछ।
एक हजार स्वयंसेवक परिचालन
स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन, प्रतिनिधि सहजीकरण, हल व्यवस्थापन, सूचना आदान–प्रदान तथा आकस्मिक सहयोगका क्षेत्रमा खटाइने योजना रहेको उनले बताए। null
प्रतिनिधि सहभागिता र कार्यक्रम संरचना
भृकुटीमण्डपमा पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ। महाधिवेशन दुई दिनसम्म चल्नेछ, जसअन्तर्गत उद्घाटन सत्र, बन्द सत्र तथा घोषणासभा आयोजना गरिनेछ।
उद्घाटन सत्रमा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै पार्टीका शीर्ष नेताहरू, प्रभावशाली युवा नेताहरू तथा ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरूले पनि सम्बोधन गर्ने कार्यतालिका बनाइएको आयोजकले जनाएको छ।
जिल्लाबाट कार्यकर्ता काठमाडौं आउँदै
महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौं आइरहेका छन्। जनपरिचालन समितिका संयोजक जगदीश नरसिंह केसीका अनुसार उद्घाटन सत्रमा मात्रै करिब ५० हजार कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता हुने अपेक्षा गरिएको छ।