— बैकिङ कसुर र चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भएरर फरार रहेका आठ जना दुई दिनयता पक्राउ परेका छन्।
बिहीबार र शुक्रबार पक्राउ परेका फरार ८ प्रतिवादीमध्ये तीन महिला रहेका छन्।
बैकिङ कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ दिन कैद र १ लाख ४५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएकी हेटौंडा उपमहानगरपालिका—१३ की ४४ वर्षीया सरिता घलानलाई प्रहरीले पक्राउ गरेको हो । चेक अनादर मुद्दामा जिल्ला अदालतले ७ दिन कैद र १५ लाख जरिवानाको फैसला सुनाएकी हेटौंडा—५ की प्रभा राईलाई प्रहरीले पक्राउ गरेको छ।
बैकिङ कसुर मुद्दामा जिल्ला अदालतले १ महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना तोकेका हेटौंडा—९ का २८ वर्षीय अनमोल दर्नाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। अदालतको उक्त फैसलापछि दर्नाल ९ महिनादेखि फरार रहेका थिए।
हेटौंडा—२ का रविन्द्र घिमिरेलाई चेक अनादर म्द्दुामा प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्दामै ३/३ हजार जरिवाना फैसला भएका हेटौंडा—३ की कृष्णकुमारी रेग्मी, गोविन्द बर्तौला र युद्धबहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका चारै जना गाउँमै बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए। सवारी ज्यान मुद्दामा मकवानपुर अदालतले ३ हजार रुपैयाँ जरिवाना गराएपछि ८ महिनादेखि फरार हेटौंडा—३ का कृष्णबहादुर लामालाई पनि प्रहरीले पक्राउ गरेको हो ।
पुस महिनाको यो अवधिसम्म प्रहरीले २८ जना फरार अभियुक्तलाई पक्राउ गरेर अदालत बुझाएको डीएसपी बोगटीले बताए। मकवानपुर प्रहरीले गत साउनदेखि पुस २५ गतेसम्म ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।