: सुनसरीका विभिन्न स्थानमा दैनिक जसो जंगली हात्तीको आतंकले स्थानीय बासिन्दा त्रसित बनेका छन्। हप्तादिनदेखि २२ वटा जंगली हात्तीको बथान मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, बालीनाली नष्ट गर्ने र सर्वसाधारणमाथि आक्रमण गर्न थालेपछि जिल्लाको जनजीवन प्रभावित भएको हो।
सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका तथा इटहरी उपमहानगरपालिका आसपासका जंगल नजिकका मानव बस्तीमा जंगली हात्तीले पटक–पटक प्रवेश गरी क्षति पुर्याइरहेका छन् । विशेष गरी रातको समयमा हात्ती बस्ती पस्ने क्रम बढेपछि स्थानीयबासिन्दा सुत्नसमेत नसक्ने अवस्था सिर्जना भएको छ ।
बिहीबार राति धरान उपमहानगरपालिका–१९ मा जंगली हात्तीको समूह प्रवेश गरी स्थानीय बालकुमार गुरुङको घरको कम्पाउण्ड वाल भत्काइदिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुवरले बताए। उनले हात्तीको समूहले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पूर्वी भागतर्फ रहेको कम्पाउण्ड वालसमेत भत्काएको बताए।
जंगली हात्तीको समूह धरान उपमहानगरपालिकाका ६, ८, १५, १७ र १९ वडाका मानव बस्तीमा समेत प्रवेश गरेको छ। रातभर हात्तीको आवाज, घर भत्काउने र बाली नष्ट गर्ने गतिविधिका कारण स्थानीयहरू भयभीत बनेका छन्। । धेरैजसो परिवारले घरमै आगो बालेर, हल्ला गरेर हात्ती धपाउने प्रयास गरे पनि प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।
धरानको बाझगरा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले जंगली हात्ती दैनिकजसो जंगलबाट निस्केर मानव बस्तीमा प्रवेश गर्न थालेको बताए। उनले हात्तीको समूह नियमित रूपमा बस्ती पस्दा स्थानीय सर्वसाधारण आतंकित भएर सुरक्षित स्थान खोज्न बाध्य भएको बताए।
सुनसरीको तालतलैया, पञ्चायन, नडाहा लगायतका क्षेत्रमा समेत जंगली हात्तीको आतंक उस्तै छ। ती क्षेत्रमा हात्तीको समूहले स्थानीयका घर भत्काउनुका साथै गहुँ, तोरी र तरकारी लगायतका बालीनाली पूर्णरूपमा नष्ट गरिरहेको स्थानीयले बताएका छन्। खेतीपातीमा आत्मनिर्भर परिवारहरूका लागि हात्तीको आतंक ठूलो समस्या बनेको छ।
हात्तीको आक्रमणबाट सुनसरीमा हालसम्म दर्जनौँ घरमा क्षति पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिए। उनले बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय मानबहादुर लिम्बू घाइते भएको बताए। घाइते लिम्बूको उपचार भइरहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार हात्तीको बथान हप्तादिनदेखि सुनसरीका विभिन्न स्थानमा घुमिरहेको छ। हात्ती बस्ती पस्ने डरले बालबालिका, वृद्धवृद्धा र महिलाहरू बढी त्रसित भएका छन्। विद्यालय जान, खेतबारीमा काम गर्न र दैनिक आवतजावत गर्नसमेत जोखिम बढेको बराहक्षेत्रको बागेश्वरी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष युवराज श्रेष्ठले बताए। वन क्षेत्र नजिकै रहेका मानव बस्तीमा हात्ती प्रवेश रोक्न दीर्घकालीन योजना नबन्दा समस्या झनै जटिल बन्दै गएको उनको भनाई छ।
स्थानीयले वन कार्यालय, स्थानीय सरकार र सुरक्षा निकायले समन्वय गरेर हात्ती आतंक नियन्त्रण गर्न र प्रभावित परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका छन्। जिल्ला बन कार्यालय सुनसरीका प्रमुख रितेज बस्नेतले जंगली हात्तीको आतंक नियन्त्रणका लागि प्रहरी संग समन्वय गरि वन कर्मचारीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए।