— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् ।
आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही सातादेखि राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थन गरेपछि यो निष्कर्षमा पुगेको उनले उल्लेख गरेकी छन् ।
'विगत केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा सरोकारवालासँग प्रत्यक्ष संवाद र सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गरेको थिएँ,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'विशेष गरी 'जेन-जी' (नयाँ पुस्ता) का भाइबहिनीहरूसँग उनीहरूको अपेक्षा र मुद्दाबारे भएको छलफलपछि स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।'
तामाङले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्त्वाकांक्षा नभई नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति र पारदर्शिताका लागि भएको दाबी गरेकी छन् । उनले युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा उठाउने र भ्रष्टाचार विरुद्धको लडाइँलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् ।