: कुनै बेला विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपसँग १४ सय रोपनी जग्गा थियो । हाल १८ रोपनी हाराहारी मात्रै छ । अर्थात्, स्तूपको अधिकांश जग्गा अतिक्रमण भइसकेको छ । बौद्ध परिसरमा रहेका पार्टी, सत्तल, देवल, धर्मशाला नष्ट भइसकेका छन् । धेरै जग्गा व्यक्तिका नाममा दर्ता भइसकेका छन् । पछिल्लो समय बौद्ध स्तूप र पोखरी मात्रै बाँकी छ । बौद्ध स्तूपको नाममा १५ रोपनी २ आना ३ पैसा जग्गा छ भने पोखरीको नाममा ३ रोपनी १ आना २ पैसा जग्गा मात्रै बाँकी छ । बचेको जग्गामा पनि अतिक्रमणकारीले आँखा गाड्न थालेका छन् ।
बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा बौद्धनाथ स्तूप र पोखरीको जग्गामा पनि आँखा गाड्न सुरु भएको बताउँछन् । विगतमा नक्कली मोही खडा गरेर बौद्धनाथको जग्गाजमिन सिध्याइएको उनको आरोप छ । हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धनाथ जोगाउनुपर्ने उनको भनाइ छ । ‘बौद्धनाथ जोगाउनुपर्ने अवस्थामा छौं,’ लामाले भने, ‘बौद्धनाथ मन्दिर र त्यसले चर्चेको पोखरी मात्रै छ । बाँकी सबै बौद्धनाथसँग जोडिएका पाटी, पौवा, धर्मशाला, देवलहरू सबै नष्ट भए । मिचेर खाए, अंश भाग लगाएर खाए । नक्कली मोही खडा गरेर पनि सिध्याए ।’
समिति र गुठीबीचको कचिंगल
खुम्चिसकेको बौद्ध स्तूपबारे बौद्ध क्षेत्र विकास समिति र स्थानीय बौद्ध मेलम्ची घ्याङ गुठीबीच चरम विवाद छ । बौद्ध घ्याङ गुठीले स्तूपलाई आफ्नो नाममा दर्ता गर्ने प्रयास गरिरहेको समितिको आरोप छ । गुठीमा लगेर बचेको जग्गामा समेत मोही कायम गरेर सिध्याउने मनसाय गुठी पक्ष रहेको समितिको भनाइ छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा भएको दाबी गर्दै नापी कार्यालय चाबहिलमा निवेदन दर्ता भइसकेको छ । समिति पक्षधर भन्छ, ‘यो जग्गा नेपाल सरकार, बौद्ध मन्दिरको नाममा छ । यो रैकर जग्गा हो ।’
नापी कार्यालय चाबहिलको हाल साविकमा भने उक्त जग्गा नेपाल सरकारको नाममा रहेको उल्लेख छ । समिति अध्यक्ष लामा भन्छन्, ‘मालपोत र नापीको रेकर्डअनुसार २०२१ सालसम्म, त्योभन्दा अघि र अहिलेसम्म पनि श्री ५ को सरकार बौद्ध मन्दिर भनेर बौद्ध मन्दिरको नाममा देखिन्छ, यो रैकर जग्गा हो, गुठीको जग्गा होइन ।’
नापी कार्यालयको रेकर्डमा भनिएको छ, ‘बौद्ध–३ कित्ता नम्बर ४७ श्री ५ को सरकारका नाममा मोठ कायम रहेको देखिन्छ, मोहीको महलमा कित्ता नम्बर ४७ मा पोखरी र कित्ता नम्बर १९० मा बौद्ध मन्दिर उल्लेख भएको देखिन्छ । कित्ता नम्बर १९० रातो मसीले काटेर कालो मसिले सही (टिक) लगाएको देखिन्छ ।’ यही कैफियत जनाएर गुठी र नापीका कर्मचारी चलखेल गरिरहेको समिति पक्षको आरोप छ । ‘बौद्ध नाथ स्तूपको जग्गा नेपाल सरकारको नाममा थियो र हुनुपर्छ,’ समितिका अध्यक्ष लामा भन्छन् ।
नापी कार्यालयका प्रमुख एवं नापी अधिकृत सञ्जय छतकुलीले घ्याङ गुठीले आफ्नो नामको जग्गा दाबी गर्दै चिठी पठाएको जानकारी दिए । घ्याङ गुठीले पुर्जा ल्याएमा अध्ययन गर्ने उनले बताए । ‘दाबी गरेपछि पुर्जा हुनुपुर्यो, हामीले पुर्जा ल्याउन भनेका छौं, उनले भने, ल्याएमा गुठीको होला । प्रमाण बिना दाबी गरेर मात्र हँुदैन ।’ उनले मालपोतको स्रेस्ताको आधारमा निर्णय हुने पनि स्पष्ट पारे ।
बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ स्तूप र बौद्ध घ्याङ गुठीको क्षेत्राधिकार र स्वामित्वमाथि अनधिकृत रूपमा हस्तक्षेप गर्न थालेको आरोप घ्याङ गुठी पक्षको छ । गुठी संस्थानका प्रवक्ता जनक पोखरेल पनि क्षेत्र विकास समितिले अनावश्यक हस्तक्षेप गरेको बताउँछन् । क्षेत्रविकास समितिले भौतिक पूर्वाधारको काम ध्यान दिनुपर्नेमा अन्य विषयमा अनावश्यक चासो राखेको उनको भनाइ छ ।
यो बौद्धनाथ स्तूपप गुठीको भएको उनको दाबी छ । बौद्ध मन्दिर राजगुठी अन्तर्गतको मन्दिर भएको उनले बताए । गुठी संस्थान ऐन जारी भएदेखि नै बन्दोबस्त र सञ्चालन गुठी संस्थानले गर्दै आएको पोखरेलको भनाइ छ । ‘पछि बौद्ध क्षेत्रको विकास गर्नका लागि भनेर सरकारको गठन आदेशबमोजिम क्षेत्र विकास समिति गठन भएको हो,’ उनले भने, ‘समितिले पूर्वाधार विकास गर्नु पर्नेमा मन्दिरमाथि हस्तक्षेप गरेर द्वन्द्व सिर्जना गरेको छ ।’ उनले बौद्ध गुम्बाका नामका सबै जग्गा गुठीका नामको भएको पनि दाबी गरे । ‘अरू कसैको हक लाग्ने जग्गा होइन,’ उनले भने । गुठीका प्रकृति अनुसारका जग्गा रहेको पनि उनको दाबी छ । त्यहाँ गुठी अधिनस्थ जग्गा, तैनाथी जग्गा, रैकर नम्बरी जग्गा रहेको उनको भनाइ छ ।
समितिको काम भनेको सरकारबाट लगेको बजेटबाट भौतिक पूर्वाधारको विकास गर्ने मात्रै भएको उनले बताए । मठमन्दीरको पूजापाठको प्रबन्ध गर्ने काम गुठीकै भएको उनले दाबी गरे । गुठी संस्थान बौद्ध स्तूपको जग्गा खोजी गर्न लागेको पनि उनले बताए । गुठीको जग्गा समितिले कब्जा गरेको संस्थानको भनाइ छ ।
२०२१ सालमा एउटै कित्ता
तत्कालीन श्री ५ को सरकार बौद्धनाथ स्तूपको नाममा एउटै कित्ता नम्बर १९० थियो । त्यसपछि माफियाहरूले कित्ता फोडफाड गरेर ५ टुक्रा बनाए । हाल टुक्रा टुक्रा पारिएको छ । तीमध्येका दुईवटा कित्तामा कैफियतमा बौद्ध तथा मेलम्ची घ्याङ गुठी राख्न लगाएको समिति पक्षधरको भनाइ छ । उनीहरूले नापी र मालपोतका कर्मचारीलाई प्रलोभनमा पारेर कैफियतमा गुठीको नाम राखिएको विकास समिति अध्यक्ष लामाको दाबी छ । ‘भोलि दर्ता गरेर खान पाइन्छ कि भनेर प्रयास गर्न त्यस्तो गरिएको हो,’ लामाले भने, ‘बौद्धनाथ स्तूप नेपाल सरकारको थियो । र, त्यसले चर्चेको जमिनहरू नेपाल सरकारको नाममा थियो र हुनुपर्छ भनेर लागेका छौं ।’ त्यसका लागि आफू मालपोत र नापी कार्यालय धाइरहेको उनले जानकारी दिए । ‘मालपोत, नापीमा गयौं, हाकिम भेट्यौं, उहाँहरूले के भन्नुभयो भने, अहिलेसम्म दर्ता गर्न र लालपुर्जा लैजान गुठीले सकेको छैन,’ लामाले भने, ‘तपाईंहरूले निवेदन ल्याउनु होस्, हाल साविक पनि गर्नुहोस् । नेपाल सरकारको नाममा वा बौद्ध मन्दिरको नाममा लालपुर्जा बनाइदिन्छौं भनेर हाकिमहरूले भन्नुभएको छ ।’
सरकारको नाममा दर्ता गराउने प्रक्रिया थालनी गरेपछि झमेला ल्याउने काम नापीकै कर्मचारीको मिलोमतोमा भएको लामाको आरोप छ । उनले भने, ‘बौद्धनाथ क्षेत्र विकास समितिले निर्णय गरेर हाल साविक र नेपाल सरकारको नाममा ल्याउने प्रक्रिया थाल्यौं, त्यो थाहा भइसकेपछि नापीकै कर्मचारीले घ्याङ गुठीलाई फेरी जगाउनुभयो र अर्को निवेदन हाल्न लगाउनुभयो । हाम्रो सम्पत्ति हो । हाम्रो नाममा लालपुर्जा बन्नुपर्छ भनेर च्याखे थाप्ने काम भयो । झमेला झिक्न उहाँहरू पनि आउनुभयो ।’
लामाले घ्याङ गुठीलााई नापी प्रमाण ल्याउन पत्र काटेको पनि जानकारी दिए । ‘नापीले गुठीलाई तिम्रो हो भने प्रमाण ल्याउनु भनेर पत्र काटेको छ, तर पत्रमा तिथि मिति छैनन्, प्रमाण ल्याउ मात्र भनेको छ, तिथिमिति नतोकेकाले कर्मचारीले अल्झाइरहेका छन्,’ उनले भने । गुठीको नाममा प्रमाण नभएको कारण नापीले अलमल गरिरहेको उनको आरोप छ । नापी कार्यालय चाबहिलले हलो अड्काएर राखिरहेको उनको आरोप छ । नापीले देशको सम्पत्ति जोगाउन सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
नापी कार्यालय प्रमुख नापी अधिकृत छत्कुल्लीले घ्याङ गुठीले प्रमाण नल्याएमा मालपोतको स्रेस्ता हेरेर निर्णय हुने बताए । बौद्ध घ्याङ गुठीको नाममा रहेको सबै सम्पत्ति बेचेर खाइसकेको समितिका अध्यक्ष लामाको आरोप छ । ‘सबै बेचिसके, खाइसके, अंश लगाइसके,’ लामाले भने । ५÷७ वर्ष पहिले बौद्ध मन्दिरकै अगाडि रहेको धर्मशाला भएको घर साढे दुई रोपनी जग्गा पनि ७ अर्बमा बेचेको समिति अध्यक्ष लामाको आरोप छ ।
उनले बौद्ध स्तूप घ्याङ गुठी नाममा दर्ता भएमा बेचेर खाने आशंका व्यक्त गरे । बौद्ध स्तूपको सम्पत्ति जग्गा जमिन संरक्षणमा सरकारले चासो देखाउनुपर्ने समिति अध्यक्ष लामाको आग्रह छ । पछिल्लो समय भूमिसुधारमन्त्री भरत इङनामले भने चासो देखाएको लामाले जानकारी दिए । ‘बौद्ध मन्दिरको जग्गा खोज्नुपर्छ भनेर मन्त्रीज्यूले चासो देखाउनुभएको छ,’ लामाले भने । एक स्थानीयले पनि बौद्धनाथको जग्गा पुजारीको संरक्षकत्वमा अतिक्रमण भइरहेको बताए । उनले विश्व सम्पदा सूचीको धरोहरलाई जोगाउनुपर्ने बताए।
जग्गा खोजी गर्दै गुठी
विगतमा बौद्ध स्तूपको १४०० रोपनी जग्गा भएको विभिन्न दस्तावेजमा देखिन्छ । तर ठूलो परिणाममा जग्गा अतिक्रमण भइसकेको छ । बौद्ध स्तूपको जग्गाको खोजीमा गुठी संस्थान लागेको प्रवक्ता पोखरेल बताउँछन् । गुठी संस्थान शाखा कार्यालय काठमाडौंले नापी कार्यालय चावहिलसँग बौद्ध घ्याङ गुठीको बौद्ध वडा नम्बर ३ कित्ता नम्बर ४७,१९० र १७५ को जग्गा हाल नापी हुँदा के कति कित्ता नम्बर र क्षेत्रफल कायम भएको छ भनी खुलाएर पठाइ दिन भनेको छ। उसले साविकबाट हाल नापी हुँदा के कति जग्गा घटबढ छ ? त्यसबारे पनि जानकारी मागेको छ ।
नापी कार्यलयले बौद्ध मन्दिरको जग्गाको विवरण यसरी दिएको छ । कार्यालयका अनुसार साविकको बौद्ध वडा नम्बर ३ मा कित्ता नम्बर १७५ मा २ आना ३ पैसा घ्याङ गुम्बाको नाममा छ । त्यस्तै कित्ता नम्बर १९० को १५ रोपनी २ आना ३ पैसा बौद्ध मन्दिरको नाममा छ । कित्ता नम्बर ४७ को ३ रोपनी १ आना २ पैसा जग्गा पोखरीको नाममा कायम छ । हालको नापीमा काठमाडौं वडा नम्बर ६ मा कित्ता नम्बर ७१ को २ आना २ पैसा २ दाम, कित्ता नम्बर १ का ७ रोपनी १४ आना २ पैसा ३ दाम, कित्ता नम्बर ३ मा २ रोपनी ११ आना ३ पैसा, कित्ता नम्बर १४५ मा १ रोपनी १४ आना, कित्ता नम्बर ८१ मा २ रोपनी १४ आना १ पैसा २ दाम नाप नक्सा भइ फिल्ड बुक कायम भएको देखिएको छ ।
त्यस्तै कित्ता नम्बर ७० को २ रोपनी ८ आना, कित्ता नम्बर १४३ मा १४ आना १ पैसा १ दाम, कित्ता नम्बर १४४ मा १४ आना ३ पैसा र १३१ मा ३ रोपनी २ आना २ पैसा २ दाम नाप नक्सा भइ फिल्ड बुक कायम भएको विवरण नापीले गुठीलाई दिएको छ ।
साविक बौद्ध वडा नम्बर ३ को कित्ता नम्बर १७५,१९० र ४७ को जग्गा धनी प्रमाणपुर्जा प्राप्त पत्रकासाथ संलग्न भएको नदेखिएकोले पुनः नाप नक्सापश्चात् दर्ता गर्न उल्लेखित कित्ताहरूको पुर्जा आवश्यक भएको हुँदा साविक बौद्ध ३ को कित्ता नम्बर १७५, १९० र ४७ जग्गा धनी पुर्जा संग्लन गरी पठाइदिन पनि नापीले गुठी संस्थानलाई भनेको छ । नापीले मालपोत कार्यालय चाबहिललाई पनि कित्ता नम्बर ४७,१९०, १७५ को जग्गा धनी प्रमाणपुर्जा वा उक्त जग्गाको जग्गा धनी स्पष्ट खुलाई पठाइ दिन अनुरोध गरेको छ । मालपोतले नापीलाई मोठ रोक्का भिडाइ सक्कलै फाइल पठाएको छ ।
बौद्धनाथ स्तूपको इतिहास
१९१६ सालमा बौद्धनाथ स्तुपको पुजारीको रूपमा प्रथम चिनियाँ लामा ताई फो सिङ्लाई श्री ३ जंगबहादुर राणाले नियुक्त गरेका थिए । त्यसबेला नेपाल–भोट युद्ध सकिएर थापाथली सन्धिमार्फत भर्खरै शान्तिमा रूपान्तरण भएको थियो । त्योभन्दा पहिला बौद्धनाथ स्तूप–स्वयम्भूनाथ घ्याङ गुठीले रेखदेख गर्ने गरेको थियो । बौद्ध परिसर र स्वयम्भू किमडोलमा गुठीको लगतभित्र तामाङहरूलाई बस्न दिइएको थियो । उनीहरूलाई ‘६० घरे’ भन्ने गरिएको थियो । तत्कालीन श्री ३ देवशमशेर राणाले तत्कालीन चिनियाँ लामालार्ई हटाएको इतिहास देखिन्छ । पछि श्री ३ चन्द्रशमशेर राणाले १९५४ सालमा पुनः चिनियाँ लामालाई नै बौद्धनाथको मूल पुजारीमा नियुक्त गरेका थिए ।
उनका सन्तानले वंशगतरुपमा मूल पुजारी ‘चिनियाँ लामा’को जिम्मेवारी बहन गर्दै आएका छन् । गुठी संस्थानअन्तर्गत परम्परागत रूपमा बौद्ध नाथको पूजा हुँदै आएको छ । बौद्धनाथ स्तूप सबैभन्दा ठूलो स्तुप हो । बौद्धनाथलाई स्वास्ती भन्ने गरिएको छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलार्ध ३६ मिटर छ । तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा बौद्धनाथ स्तूप रहेको छ । श्रुतिमुक्ति नामक ग्रन्थअनुसार बौद्ध स्तूपको निर्माण आरम्भ ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए ।
गुम्बज शैलीको बौद्धनाथ स्तूप चारपाटे शिखरले ढाकिएको छ । बौद्ध नाथका सबै पाटाहरूमा चार दिशातर्फ नियालिरहेका, बुद्धका आँखा भनेर चिनिने रहस्यमय छविहरू अंकित छन् । बुद्धका आँखाहरू एक पटक मात्र दर्शन गर्दा पनि आध्यात्मिक मुक्ति मिल्ने विश्वास गरिन्छ । युनेस्कोले विश्व सम्पदा स्मारकको रूपमा सूचीकृत गरेको छ । सेतो रङले पोतिएको विशाल गुम्बज आकारको बौद्ध स्तूप उत्साहका साथ परिक्रमा गर्ने गरिन्छ ।
तर, मानिसका प्रार्थना, मन्त्रोच्चारण तथा संवादले फस्टाउँदै गरेको तीर्थस्थलको रूपमा झकिझकाउ र जीवन्त छ । तीर्थालुहरू आफ्नो दायाँतर्फ भव्य स्तूपका दिवार तथा प्रार्थना गर्दै खरखर आवाजका साथ घुमाइने मानेहरू र बायाँतर्फ बौद्धप्रेमीहरूका लागि लक्षित गरी सजाइएका सामग्रीहरूले भरिभराउ एवं व्यस्त पसलहरूको बीचमा संसार र दुःखपारको एकताबद्ध मार्गमा शान्तिपूर्वक घुम्छन् । स्तूपको उत्तरी मोहोडामा राखिएको विशाल धूपदानीमा एकत्रित भएर जल्दै गरेका उच्चतम धूपहरूका मगगमगाउँदो सुगन्ध हिमालयको हावामा फहराउने प्रार्थनाका झन्डाहरूसँग मिसिनका लागि माथिमाथि उडेर आकाशमा विलिन भइरहेका देखिन्छन् ।