: धनगढी उपमहानगरपालिकाले ५८० जना दलित छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरभित्र कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना र उच्च शिक्षाका लागि अध्ययनरत ४ जना गरी ५८० जना दलित छात्रालाई छात्रवृत्ति प्रदान गरिएको मेयर गोपाल हमालले बताए।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पहिलोपटक दलित अभियन्ताहरूका नामबाट २ वटा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको थियो। कक्षा ८ देखि १० कक्षासम्म अध्ययनरत दलित छात्राका लागि ‘जुठे दमाई छात्रवृत्ति कार्यक्रम’ र उच्च शिक्षा अथवा १२ कक्षादेखि स्नातकसम्म अध्ययनरत दलित छात्राका लागि ‘टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ घोषणा गरेको थियो। ‘उपमहानगरभित्र दलित छात्राहरुको विद्यालय भर्नादर न्यून थियो। एसईईसम्म जेनतेन पढाए पनि उच्च शिक्षाका लागि भने नगन्य दलित छात्राहरु अध्ययनरत थिए। दलित समुदायका विद्यार्थी त्यसमा पनि महिलाहरु अझ सशक्त हुन भनेर यी दुई छात्रवृत्ति कार्यक्रम ल्याइएको हो’, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने।
नगरसभाबाट स्वीकृत कार्यक्रमको कार्यान्वयन गर्ने क्रममा धनगढी उपमहानगरपालिकाले प्रति छात्रा एउटा झोला, एक दर्जन कापी र एक दर्जन डट्पेन गरी वार्षिक ढाई हजार भन्दा बढीको अध्ययन सामाग्री वितरण गर्नेछ। ‘दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति’ स्वरूप हरेक वर्ष उनीहरूलाई छात्रवृत्ति प्रदान गरिने उपमहानगरका शिक्षा महाशाखा प्रमुख घुम्मन सिह बडायकले बताए।
धनगढी उपमहानगरपालिकाको वडा नं. १६ को रामपुरस्थित शिव माध्यमिक विद्यालयबाट छात्रवृत्ति सामग्री वितरण सुरु गरिएको थियो। मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना सहितको टोलीले उपमहानगरभित्रका विद्यालयहरूमा पुगेर छात्रवृत्ति हस्तान्तरण गरेका थिए। उपमहानगरभित्रका सामुदायिक ४० सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका ५७६ जना दलित छात्रालाई छात्रवृत्ति स्वरूप सामग्री प्रदान गरिएको हो। यस कार्यक्रमबाट शैक्षिक सामग्रीको अभावमा दलित छात्राहरूले विद्यालय छाड्नु पर्ने अवस्थाको अन्त्य हुने र दलित छात्राहरूको सिकाइमा सुधार हुने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ।
दलित अभियन्ता स्वर्गीय जुठे दमाईको जन्म १९९३ सालमा डोटीको सिलगढीमा आमा पदमा दमाई र बुबा बहादुर दमाईका ज्येष्ठ सुपुत्रका रूपमा भएको हो। उनको परिवार २०२७ सालमा डोटीको सिलगढीबाट कैलालीको धनगढी झरेको थियो। धनगढीमा रहेर स्वर्गीय जुठे दमाईले सामाजिक अभियन्ता र अधिकारका पहरेदारका रूपमा काम गरेका थिए। उनले आफू बाँचुन्जेल दलित अधिकार, आर्थिक अभाव, सामाजिक विभेद, असमानता, जातीय छुवाछुत लगायतका विषयमा निरन्तर बहस पैरवी गरेर दलित समुदायको उत्थानका लागि कार्य गरेकाले उपमहानगरले उनकै नामबाट छात्रवृत्तिको नाम राखेको मेयर हमालले बताए।
यस्तै उमहानगरपालिकाले अर्का दलित अभियन्ता टीकाराम पार्कीको नामबाट स्थापना गरेको ‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत ४ जनालाई छात्रवृत्ति प्रदान गरेको छ। नगर शिक्षा समितिको उपस्थितिमा अभिभावकसहित आयोजित कार्यक्रममा शिक्षा, विज्ञान, कृषि र कानुन संकायमा अध्ययनरत दलित छात्राहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको उपमहानरले जनाएको छ।
छात्रवृत्ति योजनाअन्तर्गत शारदा माध्यमिक विद्यालयमा कृषि विषयमा डिप्लोमा गरिरहेकी छात्रा आशिकाकुमारी पार्कीलाई एक वर्षको शुल्क वापतको ६२ हजार पाँच सय, फूलबारी बहुमुखी क्याम्पसमा अध्ययनरत सीमा विकलाई पहिलो वर्षको शुल्कका लागि २३ हजार ५० रुपैयाँ, चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीमा कक्षा ११ मा अध्ययनरत विसिका सुनारलाई एक वर्षको शुल्क ७ हजार ५७५ तथा कैलाली बहुमुखी क्याम्पस मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क ७ हजार २५० रुपैयाँ हस्तान्तरण गरिएको उपमहानरपालिकाका शिक्षा प्रमुख घुम्मन सिह बडायकले जानकारी दिए।
उपमहानगरपालिकाले दलित समुदायका छात्राहरूको शैक्षिक पहुँच विस्तार र उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको स्नातक तहसम्मको अध्ययन पूरा गर्न लाग्ने कलेज शुल्क धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।