: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु गरेको छ।
शनिबार विशेष अभियानका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उद्घाटन गरेका छन्। वसन्तपुर डबलीबाट सुरु भएको जनचेतनामूलक र्याली काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यक्रममा परिणत भएको थियो।
‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ माघ ३ गतेसम्म सञ्चालन हुने ट्राफिक सप्ताहमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम लगायत आयोजना हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक एफएमको पनि उद्घाटन गरे। गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पश्चात पुगेको भौतिक क्षतिका कारण रोकिएको प्रसारण नियमित रुपमा पुनः प्रसारण सुरु भएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक नियमलाई दण्ड जरिवानाको डरले नभइ आफ्नो जीवनको मूल्य बुझेर पालना गर्न सम्पूर्ण सडक प्रयोगकर्तालाई अनुरोध गरे। जरिवाना र राजस्व आफूहरूको प्राथमिकता नभइ बाध्यात्मक अवस्था भएको उनले बताए।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा ट्राफिक एफ एमको भवन निर्माणमा योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो। सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सडक सुरक्षा कार्यक्रमको आयोजना गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।