: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति बन्नका लागि आग्रह गरेको दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले आफू र विश्वप्रकाश शर्मा उनकै निवास गएर उक्त आग्रह गरेको बताए।
'कार्यवाहक सभापतिको घरमा हात जोडेर सभापति बन्नुस् भनेका छौं। त्यति गर्दा पनि उहाँहरूको उपस्थिति आज भएन। य दुःखद कुरा हो,' उनले भने। उनले आफू गणेशमान र बीपीका कार्यकर्ता भएको र युद्ध जित्नलाई हार्न पनि तयार रहेको बताए।
त्यस्तै महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई आराम गर्न आग्रह गरेको बताए। 'हामीले सभापतिजीलाई भनेका छौं। समय आएको छ, तपाईंले छाडिदिनुस्। तपाईं आराम गर्नुपर्छ। मार्ग प्रशस्त गरिदिनुस्। सुदूरपश्चिमबाट आएका एउटा व्यक्तिले प्रजातन्त्रका लागि गरेको योगदानलाई धेरैले सम्झनेछन्। मैले छोड्छु, भनेपछि कांग्रेस र बाहिरका मान्छेले पनि नेता त शेरबहादुर देउवाजस्तो हुनुपर्छ भनेकै हुन्,' थापाले भने। त्यसका बाबजुद पनि सभापति देउवाले महाधिवेशनप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ।