— कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले नेतृत्व बदलेकाले त्यसको अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताएका छन् ।
आयोगमा भएको छलफलमा उनले कांग्रेस विधान उल्लेख गर्दै विधानअनुसार नै विशेष महाधिवेशन भएको प्रस्ट्याए ।
'विशेष महाधिवेशन आयोजना गर्दा कारबाहीको विषय आएकै थिएन । जतिबेला उहाँहरुले कारबाही गर्नुभयो त्यसबैला हामी महामन्त्री नै थिएनौं । केन्द्रीय कार्यसमिति विघटन भइसकेको थियो,' उनले भने ।
५४.५८ प्रतिशत प्रतिनिधिले असोजमा विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गरेको पनि उनले स्मरण गराए ।
शर्माले नियमित महाधिशेनको कार्यतालिका अव्यावहारिक भएकाले नै दुवै महामन्त्रीले असहमति जनाएको बताए ।
'कांग्रेस विधानले केन्द्रीय समिति र केन्द्रीय कार्यसमितको कार्यालय पनि हुन्छ भनेको छ । केन्द्रीय कार्यालय महामन्त्री मातहत रहन्छ भनेको छ । विधानअनुसार कुनै दलले आफ्नो विधान कार्यान्वयन गर्दैन भने त्यो कानुन उल्लंघन हुन्छ,' उनले भने ।
विशेष महाधिवेशन प्रतिनिधिमध्यक्षे २९ जनाले मात्रै हस्तक्षर फिर्ता गरेको उनले बताए ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको टोली आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा पुगेको हो । यसअघि सभापति शेरबहादुर देउवा पक्ष पनि पुगेको थियो ।
शुक्रबार बिहान कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।
थापा पक्षले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।