— गत पुस १७ गते दिउँसो चन्द्रपुर चोकबाट सर्लाहीको भरतताल जाँदै गरेको ई–रिक्सा चन्द्रपुर–४ स्थित चाँदी पुलनजिक सडकबाट खस्दा ७ यात्रु घाइते भए।
गत मसिर १८ गते दिउँसो गौर–चन्द्रनिगाहपुर खण्ड अन्तर्गत सुकदेव चोक र जयनगरबीच भारतीय पिकअप भ्यान र रिक्सा जुँध्दा एकै परिवारका ७ समेत ८ जना घाइते भए। प्रदेश २–०३–००१ ह १०७४ नम्बरको रिक्सा र विपरीत दिशाबाट आइरहेको बीआर ०६ जिजी ५४०४ नम्बरको पिकअप गाडी जुँध्दा दुर्घटना भएको थियो।
केही दिनअघि चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ह ३६१० नम्बरको रिक्साको ब्रेक फेल भएर सडकबाट १५ मिटर तल खस्यो। लगत्तै चन्द्रपुर–१० का रिक्सा चालक राजु साहलाई प्रहरीले नियन्त्रणमा लियो । तिब्र गतिमा रहेको रिक्सा विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा खसेको थियो । उक्त रिक्सामा पनि चालकले क्षमता भन्दा बढी यात्रु राखेको प्रहरीको भनाई छ ।
विद्युतीय रिक्साका कारण जिल्लामा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । यस्ता रिक्साका कारण जिल्लामा दुर्घटना बढेका छन्। पछिल्लो समय क्षमताभन्दा बढी यात्रु बोक्ने र नियम मिचेर चलाउँदा विद्युतीय रिक्सा जोखिम बन्दै गएका छन् । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले ईरिक्सा दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
ट्राफिक कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा ६१ वटा ई–रिक्सा दुर्घटना भएका थिए। चालु वर्षको ६ महिनामा ५६ वटा ई-रिक्सा दुर्घटना हुँदा ७७ जना यात्रु घाइते भए । यी प्रायः घटनामा यात्रुको संख्या क्षमता भन्दा बढी नै रहेको प्रहरीको भनाइ छ ।
तीन पांग्रे रिक्सामा अधिक यात्रु बोक्ने र सवारी नियम उल्लंघन गर्नेलाई कार्यालयमा बोलाएर नियमबारे जानकारी दिँदै आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए । ‘हामीले क्षमताभन्दा बढी यात्रु बोक्ने र जथाभावी चलाउने काम नगर्नुस् भनेका छौं,’ उनले भने, ‘बिना लाइसेन्स चलाउने र नियम पालना नगर्नेलाई कारबाही गरिरहेका छौं ।’ ट्राफिकले जिल्लाभरिका चालकलाई भेला गराएर नियमबारे सचेत गराउने कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
Hardik IVF
Laxmi Sunrise bank
जिल्लाको मुख्य बजार चन्द्रपुरचोक सधै व्यस्त हुन्छ । मेचीदेखि महाकालीसम्मका गाडी यही रोकिन्छन् । पछिल्लो समय व्यस्त चोकभरि ई–रिक्सा मात्र भेटिन्छन् । व्यवस्थित पार्किङ हुने गरेको छैन । जता मन लाग्यो त्यतै रोक्छन् । बेलाबेलामा ट्राफिक प्रहरी र चालकबीच लुकामारी चल्छ। ट्राफिकले सडकमा रिक्सा राख्यो भने लखेट्ने गर्छन् । प्रहरी देख्यो कि रिक्सा चालक कुदाएर अन्यत्र भाग्छन्। सडकमै रिक्सा पार्किङ गरेर बस रोकिनासाथ यात्रु बोक्न कुँदाउछन् । यस्तो तानातानका बेला दुर्घटनाको जोखिम हुने ट्राफिक प्रहरीको भनाई छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर ईरिक्सा संघका पूर्वअध्यक्ष केदारप्रसाद तिमल्सिनाले चालकसहित ५ सिट क्षमता भएको रिक्सामा १०/१२ जनासम्म ओसार्ने गरेकाले दुर्घटना हुने गरेको बताए । ‘नियमको परिधिभित्र बसेर काम गरौं भनेर पटक/पटक भन्दै आएको छु,’ उनले भने, ‘बेथिति हटाउन जुन ईरिक्सामा बढी यात्रु बोक्छन्, नियन्त्रणमा लिएर तत्कालै कारबाही गर्नुपर्छ । अब ट्राफिक प्रहरी एक्सनमा आउनु पर्छ ।’
चन्द्रपुर नगरपालिका क्षेत्रभित्र मात्र ८ सय यस्ता ईरिक्सा छन् । यहाँको क्षमता भनेको २ सय मात्र हो । चार गुना बढी सञ्चालनमा आएपछि व्यवस्थापन गर्न असहज भएको पालिकाले जनाएको छ । चन्द्रपुरको अलवा डुमरिया, गरुडा, शिवनगर र सदरमुकाम गौरका सडकमा जथाभावी रिक्सा राख्ने गर्छन् ।