: झापाको बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-४ निवासी ३२ वर्षीय खगेन्द्र मगर रहेको प्रहरीले जनाएको छ।
आज साँझ ७ः५० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-५ सिटी सेन्टर नजिकै बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक मगर र सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती २५ वर्षीय सुकमाया तामाङ गम्भीर घाइते भएका थिए। दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा मोटरसाइकल चालक मगरको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगो नियन्त्रणमा लिएको छ। ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको छ।